दशैं-तिहार र छठमा नेपाली केरा नै पर्याप्त, आयात रोक्न व्यवसायीलाई किसानको आग्रह

दशैं-तिहार र छठमा नेपाली केरा नै पर्याप्त, आयात रोक्न व्यवसायीलाई किसानको आग्रह

काठमाडौं : नेपालका केरा उत्पादक किसानहरूले दसैँ, तिहार र छठजस्ता चाडपर्वका लागि स्वदेशी उत्पादन नै पर्याप्त हुने भन्दै केरा आयात नगर्न थोक व्यवसायीहरूलाई सार्वजनिक आग्रह गरेका छन्।

नेपाल केरा उत्पादक महासङ्घले देशभरका फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई पत्र नै पठाएर यस्तो अनुरोध गरेको हो।

महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले हाल नेपालमा केरा उत्पादन राम्रो रहेको र चाडपर्वको माग धान्न सक्ने अवस्थामा विदेशी केराको अनियन्त्रित आयातले नेपाली किसान मारमा परेको बताए।

महासङ्घले पठाएको पत्रमा स्वदेशी उत्पादनले बजारको माग थेग्न सक्ने अवस्था हुँदाहुँदै पनि विदेशी केरा निर्वाध आयात भइरहेको उल्लेख छ।

यसले नेपाली अर्थतन्त्र, व्यापार घाटा र रोजगारीमा असर पार्ने तथा किसानहरू विस्थापित भई आन्दोलनमा जान सक्ने खतरासमेत औँल्याइएको छ।

साथै, महासङ्घले असोज ६ गतेपछि भारतबाट केरा आयात नगर्न र नगराउन अन्तिम मिति तोकेको छ।

पत्रमा भनिएको छ, ‘यदि व्यापारीले बलजफ्ती आयात गरेमा नेपाली किसान वा समर्थकले पुर्याउन सक्ने क्षतिको जवाफदेही महासङ्घ हुने छैन।’

यो मागमा चितवन, कैलाली, कञ्चनपुर, बर्दिया र नवलपरासीका केरा उत्पादक सङ्घका अध्यक्ष तथा प्रतिनिधिहरूले पनि ऐक्यबद्धता जनाएका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै केरा आयातमा तत्काल रोक लगाउन माग गरेका छन्।

असोज १, २०८२ बुधबार ११:४७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।