
एसिया कपमा अफगानिस्तानमाथि बंगलादेशको ८ रनको जित, सुपर फोर समीकरण थप रोमाञ्चक

एजेन्सी : बंगलादेशले एसीसी टी-२० एसिया कपमा अफगानिस्तानमाथि ८ रनको रोमाञ्चक जित हात पारेको छ। यो जितसँगै समूह ‘बी’ बाट सुपर फोरमा पुग्ने होडमा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीचको समीकरण थप रोमाञ्चक बनेको छ।
आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो। बंगलादेशका लागि ओपनर तान्जिद हसनले ३१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको उत्कृष्ट पारी खेले। अर्का ओपनर सैफ हसनले २८ बलमा ३० रन जोड्दै टोलीलाई राम्रो सुरुवात दिलाए।
ओपनरद्वयले पहिलो विकेटका लागि ६.४ ओभरमा ६३ रनको साझेदारी गरेका थिए। तर, पावरप्लेपछि अफगानी स्पिनरहरूले खेलमा पुनरागमन गरे। कप्तान लिटन दास ९, तौहिद हृदय २६, शमिम हुसेन ११ तथा जाकेर अली र नुरुल हसनले अविजित १२-१२ रन बनाए।
अफगानिस्तानका लागि राशिद खान र नुर अहमदले किफायती बलिङ गर्दै २-२ विकेट लिए। राशिदले ४ ओभरमा २६ रन तथा नुरले २३ रन खर्चिए। आजमतुल्लाह ओमरजाईले १ विकेट लिए।
१५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा १४६ रनमा अलआउट भयो। अफगानिस्तानको सुरुवात खराब रह्यो। स्पिनर नासुम अहमदले इनिङ्सको पहिलो बलमै सेदिकउल्लाह अटललाई तथा आफ्नो दोस्रो ओभरमा इब्राहिम जर्दान (५) लाई एलबीडब्लू आउट गर्दै बंगलादेशलाई उत्कृष्ट सुरुवात दिलाए।
खराब लयबाट गुज्रिरहेका ओपनर रहमानउल्लाह गुरबाजले ३१ बलमा ३५ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
एक समय १३ ओभरमा ७७-५ को कमजोर अवस्थामा रहेको अफगानिस्तानका लागि आजमतुल्लाह ओमरजाईले आक्रामक ब्याटिङ गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए। उनले १४ औं ओभरमा २० रन प्रहार गरे। तर, तीव्र गतिका बलर तस्किन अहमदले उनलाई १६ बलमा ३० रन बनाएको अवस्थामा आउट गरेपछि बंगलादेश खेलमा फर्कियो।
अन्तिम आशाका रूपमा रहेका राशिद खान र करिम जन्नतबीच तालमेल नमिल्दा जन्नत रनआउट भए। अफगानिस्तानलाई अन्तिम १२ बलमा २७ रन आवश्यक हुँदा अनुभवी बलर मुश्ताफिजुर रहमानले १९ औं ओभरमा राशिद खान (२०) को महत्त्वपूर्ण विकेट लिएपछि बंगलादेशको जित सुनिश्चित भयो।
बंगलादेशका लागि मुश्ताफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए। रिसाद हसन, नासुम अहमद र तस्किन अहमदले २-२ विकेट हात पारे।
यो नतिजापछि समूह ‘बी’ को अङ्क तालिका रोमाञ्चक बनेको छ। श्रीलंका २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा छ भने बंगलादेश ३ खेलमा ४ अङ्कका साथ दोस्रो स्थानमा छ। अफगानिस्तान २ खेलमा २ अङ्कका साथ तेस्रो स्थानमा रहँदा अब समूहको अन्तिम खेलमा बिहीबार श्रीलंका र अफगानिस्तान भिड्नेछन्।
यदि श्रीलंका विजयी भए श्रीलंका (६ अङ्क) र बंगलादेश (४ अङ्क) सुपर फोरमा पुग्नेछन्। यदि अफगानिस्तान विजयी भए श्रीलंका, बंगलादेश र अफगानिस्तान तीनवटै टोलीको समान ४-४ अङ्क हुनेछ। यस्तो अवस्थामा नेट रनरेटका आधारमा शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन्।
समूह ‘ए’ बाट भारत लगातार दुई जितसहित सुपर फोरमा पुगिसकेको छ भने बुधबार हुने यूएई र पाकिस्तानबीचको विजेता टोलीले पनि स्थान बनाउनेछ।
असोज १, २०८२ बुधबार ०८:१३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।