
नारायणगढ-मुग्लिन सडकमा बसमाथि ढुङ्गा खस्दा एक महिलाको मृत्यु

मुग्लिन: नारायणगढ-मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुङ्गाले बसलाई लाग्दा एक यात्रुको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार मृत्यु हुनेमा लमजुङको घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी रहेकी छन्।
प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मङ्गलबार साँझ तनहुँबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख १८३६ नम्बरको बसमाथि इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीखोला पुलमा ढुङ्गा खसेको थियो।
ढुङ्गाले लागेर गम्भीर घाइते भएकी कामीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले बसका चालक तनहुँ म्याग्दे गाउँपालिका-२ का ३५ वर्षीय तेजकुमार शाहीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
असोज १, २०८२ बुधबार ०७:५३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।