EXCLUSIVE : केपी ओलीलाई बर्खास्त गर्ने जेनजीको ‘विद्रोह’मा सेना र सशस्त्रको ‘साथ’, ओलीको राजीनामा राष्ट्रपतिकोमा पुगेपछि मात्र बालुवाटारमा हेलिकप्टर

काठमाडौं : भदौ २३ गते सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु अनि अनि ३ सय बढी घाइते भएको घटना सार्वजनिक भएसँगै स्थानीय प्रशासनले भोलिपल्ट काठमाडौंको थप क्षेत्रमा कर्फ्यु आदेश जारी गर्यो। तर, बिहानैबाटै रिङरोड बाहिरबाट जेनजी पुस्तासँगै अभिभावकहरू सडकमा उत्रिन थालिसकेका थिए।
शान्तिपूर्ण आन्दोलनमा सहभागी युवापुस्तामाथि सरकारले गोली हानेर दमन गरेको भन्दै उनीहरू आक्रोशित थिए। कर्फ्यु क्षेत्रमा जुन खालको सुरक्षा प्रबन्ध हुन्थ्यो त्यो थिएन। बिहानीपख केही प्रहरी देखिएका थिए। तर प्रदर्शनकारीको संख्या बढेसँगै उनीहरू पनि भित्री शहरतिर खुम्चिए।
बिहानैबाट “अब नेताको घर घेर्ने” भन्दै टोल-टोलमा भेला हुन थालिसकेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारमा रहेको घरतर्फ प्रदर्शनकारी जान खोज्दा प्रहरीसँग झडप भएको सूचना आइरहेका थिए। नौ नबज्दै उता बुढानीलकण्ठ क्षेत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरतिर जान देउवा चोकमा स्थानीय भेला भएको सूचना बाहिरियो।
त्यस्तै १० बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग अवस्थाको बारेमा जानकारी लिए। तीनै सुरक्षा सङ्गठनका प्रमुखहरूले सडकमा प्रदर्शनकारीहरूको संख्या बढी रहेको, नेताहरूको निवास लक्षित आक्रमणका घटना बढेको भन्दै अवस्था क्रिटिकल रहेको ब्रिफिङ गरे।
“प्राय प्रमुख नेताहरूको घर रहेको क्षेत्रमा प्रदर्शनकारीहरू भेला भइरहेका थिए। प्रधानमन्त्रीलाई त्यही अवस्थाबारे जानकारी गराउँदै अवस्था जोखिमयुक्त रहेको ब्रिफ भयो,” जानकार स्रोतले उकेरालाई भन्यो “तर प्रधानमन्त्रीले ए भन्दै सुरक्षा व्यवस्था बलियो बनाउनु मात्र भन्नुभयो। अवस्थालाई त्यति गम्भीरताका साथ लिनु भएन।”
प्रवेश गरेका प्रदर्शनकारीहरू छरिन थालिसकेका थिए। त्यो भन्दा पनि जोखिम प्रहरी कार्यालय अगाडि अनि नेताहरूको निवास जान खोज्ने संख्या बढिसकेको थियो। खटिएका सुरक्षाकर्मीले मात्र भिड नियन्त्रण गर्न सक्ने अवस्था थिएन। सेना र सशस्त्रले प्रहरीलाई पूर्ण असहयोग गरिरहेका थिए।
१२ बजेतिर प्रचण्ड निवासमा आक्रमण भइसकेको थियो। तर त्यही बेलामा प्रधानमन्त्री ओली भने सर्वदलीय बैठकको तयारीमा लागे। उनले उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षका लागि सम्बद्ध पक्षसँग संवादमा रहेको र साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरे।
तर त्यो बेलासम्म संवादबाट समाधान गर्ने परिस्थिति बिग्रिसकेको थियो। प्रचण्ड निवाससँगै भैसेपाटीमा रहेको मन्त्रीहरूको सरकारी आवास क्षेत्रमा समेत आक्रमण सुरु भइसकेको थियो। प्रहरी कार्यालयमा निरन्तर आक्रमण भइरहेको थियो। प्रहरी आफैँ रक्षात्मक अवस्थामा पुगिसकेका थिए। प्रधानमन्त्री ओली यी सबै घटनाक्रमबारे जानकारै भए पनि ढुक्क देखिएका थिए।
अब म आन्दोलनको पहिलो दिनका केही तथ्य उल्लेख गरौँ।
नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सुरु भएसँगै नेपालमा खुल्ला भएको टिकटकमा सत्ताको शक्तिमा रहेकाहरूको सन्तानहरूले सामाजिक सञ्जालमा राखेको बिलासी जीवनशैली देखाउने तस्बिर र भिडियो राख्दै ‘नेपोबेबी’ अभियान फैलँदै गएको थियो। यसबारे अधिकांश मिडिया बेखवर समान देखिएका थिए। सुरक्षा निकायले पनि यसलाई गम्भीरताका साथ लिएको देखिएन।
सामाजिक सञ्जालमा मात्र बोलेर हुन्न अब सडकमै आउनपर्छ भन्ने माग चर्कँदै गएपछि शनिवारबाट एकाएक सोमबार बिहान ९ बजे नयाँबानेश्वरमा भेला हुने सूचनाहरू सार्वजनिक हुन थाल्यो। आइतबार बिहान भने समय र स्थान बदलिएर तीनकुनेमा ११ बजे भेला हुने सूचनाहरू आइरहेका थिए।
आइतबार दिउस जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रदर्शनको अनुमति माग्दै निवेदन पर्यो। शान्तिपूर्ण आन्दोलनको सर्तमा स्वीकृति पनि आयो। लगत्तै काठमाडौंको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको प्रतिनिधीहरुसहितको बैठक बस्यो। बैठकले प्रदर्शनमा न्यूनतम बल प्रयोग गर्ने निर्णय भयो।
तोकिएको समय अनुसार सोमबार बिहान ९ बजेबाट फाट्टफुट्ट प्रदर्शनकारीहरू भेला भए। नयाँबानेश्वरमा भन्दा तीनकुनेमा प्रदर्शनकारीहरूको संख्या बढ्दै गएको थियो। कलेज ड्रेसमा राष्ट्रिय झन्डा बोकेकाहरूको संख्या बढ्दै थियो। एकाएक तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू नयाँबानेश्वरतिर अगाडि बढे।
बिजुलीबजारको पुल कटेर केही मिटर अगाडि प्रहरीले ह्युमन ब्यारिकेट (ढाला र लाठी बोकेका प्रहरीको लाइन) राखेको थियो। प्रदर्शनकारीहरूलाई उनीहरूले रोक्न बल प्रयोग गरेनन्। प्रदर्शनकारीहरू सहजै एभरेस्ट होटेल अगाडिसम्म पुगे।
एभरेस्ट होटेल कटिसकेपछि निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन फलामे ब्यारिकेटसहित सुरक्षाकर्मी खटिएका थिए। उत्तेजित हुँदै गएका प्रदर्शनकारीहरूले ब्यारिकेट तोड्ने प्रयास गरे। प्रहरीले जोगाउने। केही समयको घम्साघम्सीपछि ब्यारिकेट भत्कियो। प्रहरीले सामान्य बल प्रयोग गर्यो। केही सेल अश्रुग्याँस र पानीको फोहरा हानियो। तर भिड नियन्त्रणको विधि हेर्दा ‘हामीले सबै बल प्रयोग गरेका हौ’ भन्ने तहको मात्र थियो। अन्तिम ब्यारिकेट भत्काउने प्रयासमा यस अगाडि प्रहरीले रोक्न जुन तहको बल प्रयोग गर्थ्यो त्यो देखिएन।
अन्तिम ब्यारिकेट तोडिएपछि उत्साहित प्रदर्शनकारीहरू नयाँबानेश्वर चोकमा पुगेर बाँडिए। एक समूह मिनभवनतिरहुँदै संसद् भवनको दक्षिणी भागबाट भित्र छिर्ने प्रयासमा लागे। एक समूह दक्षिण गेटमा पुगेर धक्कामुक्की गर्न थाले।
अर्को समूह सिधै नयाँबानेश्वर चोकबाट पुरानोबानेश्वरजानेतिर जाने प्रयासमा लागे। त्यहाँ प्रहरीको ह्युमन ब्यरिकेट त थियो तर उनीहरूले धान्न सकेनन्। प्रदर्शनकारी प्रहरीको सुरक्षा घेरा तोडेर अगाडि बढे अनि सिधै संसद्को पश्चिमी गेट नजिक भेला भए।
केही प्रदर्शनकारी संसद् भवनको गेटसँगैको एक तले भवनको छतमा गएर प्रहरीतिर ढुंगा हान्न थाले। गेट बाहिर रहेका प्रहरी र सशस्त्रले लाठी प्रहार गरेर भिड हटाउने प्रयास गरे। टियर ग्याँस हाने। तर भिड नियन्त्रणमा आउन। उता दक्षिणतिर रहेको भिडले संसद् भवनको पर्खालमा प्वाल पारेर अनि केही पर्खाल नाघेर परिसर छिरिसकेका थिए। त्यसपछि संसद् भवन परिसरमा रहेका प्रहरीहरूले गोली चलाउन थाले।
संसदभित्र छिर्न नदिने निर्देशनले निम्त्याएको बित्यास
संसद् भवन बाहिर प्रदर्शनकारीहरू संसद् भवनको परिसरभित्र छिर्ने प्रयासमा थिए। संख्या बढिरहेको थियो। संसद् भवनको सुरक्षामा खटिएको प्रहरीको कमान्डरले प्रदर्शनकारीहरू संसद् भवनभित्र छिर्न थालेको रिपोर्टिङ गरेपछि आदेश आयो ‘भित्र कुनै पनि हालतमा प्रदर्शनकारीलाई रोक्न माथिको आदेश छ।’
त्यसपछि प्रहरीको गोली चल्न थाल्यो। सडकमा एकपछि अर्को गर्दै प्रदर्शनकारीहरू ढल्न थाले। भिड नियन्त्रण विधिको अन्तिम अस्त्र अनुसार प्रहरीले गोली चलाउँदा घुँडामुनि लाग्नेगरि हान्नुपर्ने कानुनै छ। तर अधिकांशको कि टाउकोमा कि छातीमा गोली लाग्यो।
यसको कारण संसद् भवनभित्र भिड नियन्त्रणमा खटिने मात्र हैन प्रहरीको स्पेसल टाक्स फोर्सका प्रहरीहरू खटिएका थिए जसको तालिमै टाउको या छातीमा गोली हान्ने हुन्छ। उनीहरू नेपाल प्रहरीको कमान्डहरू हुन्।
संसद् भवनभित्र छिरिसकेका केही प्रदर्शनकारीलाई भित्र रहेका प्रहरीले नियन्त्रणमा लिए। पर्खाल नाघेर भित्र छिर्न खोज्नेहरूलाई रोक्न कमाण्डोहरुले आधा शरीर झुकाएर घुँडा टेकेर गोली चलाए। पर्खाल नाघेर भित्र छिर्न खोज्नेहरूमाथि चलेको अधिकांश गोली संवेदनशील अंशमा लाग्यो। दक्षिणी गेट अनि पश्चिमी गेटमा भित्रबाट उभिएर प्रहरीले गोली चलाउँदा पनि प्रायको टाउकैमा गोली लाग्यो।
अस्पतालमा घाइतेहरूको संख्या बढ्दै गयो। प्रहरीलाई सघाउन उपत्यकामा रहेका प्रहरीको थप बल पुग्यो। बेलुका पाँच बजेबाट प्रदर्शनकारीहरूको मृत्यु भएको खबरहरू बाहिरिएपछि माहौल थप बिग्रँदै गयो। प्रदर्शन चर्किँदै थियो। प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लियो।
भ्रमित ओली
युवा पुस्ताको आन्दोलनको प्रभाव काठमाडौं बाहिर पनि फैलिसकेको थियो। गोली लागेर प्रदर्शनकारी मारिएको समाचार बाहिरिएसँगै उत्तेजना बढिरहेको थियो। अस्पतालमा घाइतेको संख्या बढिरहेको थियो भने निजामती अनि ट्रमा सेन्टरमा पुगेका घाइतेहरूको मृत्यु संख्या समेत बढिरहेको थियो।
अवस्था संवेदनिशल देखिएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेका थिए। बैठकमा सेनासहित तीनै सुरक्षा अङ्गका प्रमुखहरूले आ-आफ्नो विश्लेषण सुनाए। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रदर्शनकारीहरूले सर्त अनुसार शान्तिपूर्ण आन्दोलन नगरी हिंसात्मक आन्दोलन गरेको र संसद् भवन प्रवेशको प्रयास गरेकाले बल प्रयोग गर्दा मानवीय क्षति भएको ब्रिफिङ गरे।
घाइते प्रदर्शनकारीहरूको मृत्यु संख्या बढ्दै जाने हो भने मंगलबार उनीहरूको समर्थनमा अभिभावकहरूसहित प्रदर्शन हुनसक्ने यदि मृतकमा विध्यार्थीहरुको संख्या धेरै भए अवस्था जटिल हुनसक्ने सुरक्षा ब्रिफिङ भएको थियो।
बैठकमा भएको छलफलबारे जानकारस्रोतका अनुसार प्रधानमन्त्री ओलीले यसलाई युवाहरूको मात्र आन्दोलन मान्नै चाहेनन्। उनले घुसपैठको कारण घटना भएको र युवाको आन्दोलनमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र राजावादीहरूले घुसपैठ गरेको भन्दै सरकारले परिस्थिति सम्हाल्ने बताए। अनि सेनासहित तीनै सुरक्षा सङ्गठनलाई शान्ति सुरक्षा कायम गर्नु भन्दै निर्देशन दिइरहेका थिए।
बैठकमा प्रहरी महानिरीक्षक खापुङले नयाँबानेश्वरमा भएको घटनापछि प्रहरीको मनोबल कमजोर भएको र सबै ठाउँको सुरक्षामा प्रहरी खटिँदा सम्भावित प्रदर्शन रोक्ने जनशक्तिको अभाव हुने भन्दै महत्त्वपूर्ण भवनसहितको स्थानमा सेना अनि सशस्त्र प्रहरी खटिने हो भने सहज हुने प्रस्ताव राखे।
बैठकमा सहभागी प्रधानसेनापति अशोक राज सिग्देलले निकै सहज रूपमा हुन्छ, सुरक्षा जोखिम हुने स्थानहरूको सुरक्षामा सेना खटाउँछु। सशस्त्र र प्रहरी प्रदर्शनमा केन्द्रित हुनु’ भने। बैठकमा रिङरोड क्षेत्रभित्र कर्फ्यु आदेश जारी गर्ने समेत सहमतिसँगै सुरक्षा सङ्गठनका प्रमुखहरू बाहिरिए। प्रधानमन्त्रीले मन्त्रीपरिषद्को बैठक राखेर घाइतेको उपचार र घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनको निर्णय गराए।
प्रहरीलाई सेना र सशस्त्रको "धोका"
कामको बाँडफाँडमा सोमबार बेलुका भएको सहमति अनुसार रिङ रोडको मुख्य चोकसहितका स्थानमा प्रहरी बिहानैबाट परिचालित भइसकेका थिए। महत्त्वपूर्ण भवनको सुरक्षामा खटिएका प्रहरीलाई समेत ब्याकअप फोर्सका रूपमा प्रयोग गर्न झिकिएको थियो।
तर प्रतिबद्धता अनुसार सेना र सशस्त्र प्रहरी खटिएनन्। महत्त्वपूर्ण सरकारी भवन, मन्त्री निवास, प्रधानमन्त्रीको निवास, पूर्व प्रधानमन्त्री लगायत सुरक्षा जोखिम बढी हुनसक्नेहरुको क्षेत्रमा सेना खटिने भनिए पनि उनीहरू आएनन्। सोमबारको बैठकमा भएको सहमति अनुसार जुन जुन ठाउँमा सशस्त्र खटिने भनिएको थियो त्यहाँ सशस्त्र थिएनन्।
सडकमा प्रदर्शनकारीको संख्या बढ्दै गयो। उता नेताहरूको घरमा निरन्तर आक्रमण भइरहेको घटनाहरू आउन थाल्यो। सेना आउँदै आएन। सशस्त्र प्रहरीको ब्याकअप फोर्समा हैन आफू अनुकूल खटियो। प्रदर्शन देशव्यापी रूपमै हिंसात्मक भइसकेको थियो।
प्रहरी कार्यालयहरू समेत आक्रमणको निशानामा पर्नेक्रम बढेसँगै प्रहरीको कन्ट्रोल रुमबाट निर्देशन आयो “ थुनुवाको सूची तयार पार्ने, हतियार र सञ्चार सेट, सवारीसाधनको सुरक्षा गर्ने, कार्यालयमा आगजनी र आक्रमण भयो भने रोक्न सके सेल प्रयोग गर्ने, नत्र आफ्नो सुरक्षा गर्ने, थुनुवा छाड्ने।”
निर्देशनमा सेल मात्र प्रयोग गर्न भनिएको थियो। हतियार प्रयोगबारे केही भनिएन। अनि सडकमा खटिएका सुरक्षाकर्मीहरू पनि आफैँ सुरक्षित हुन थाले।
देउवा कुटिएपछि तर्सिए प्रधानमन्त्री
उता बुढानीलकण्ठको देउवा चोकमा ११ बजेबाटै प्रदर्शनकारीहरू भेला भइसकेका थिए। प्रहरीले करिब एक बजेसम्म थेगेरै बसे। तर धान्नै नसक्ने भएपछि प्रहरीले प्रदर्शनकारीहरूलाई छाडिदियो। उनीहरू नाराबाजी गर्दै देउवा निवास पुगे। गेट भित्रबाट बन्द थियो।
प्रदर्शनकारीहरुले पर्खाल भत्काएर परिसरमा प्रवेश गरेर देउवा निवासमा छिरे। सुरक्षामा खटिएको सशस्त्र र सेनाले ‘सरेन्डर’ गरे। लुटपाट गर्न घरभित्र छिरेको समूहले भित्र देउवा दम्पत्तीलाई भेटेपछि कुट्दै बाहिर निकाले। केही मनकारी प्रदर्शनकारी र सुरक्षाकर्मीले भर्याङ चढाएर भवनको पछाडिको चौरमा झार्यो दुबैलाई। त्यता पनि आक्रमण भएपछि बल्लबल्ल सेनाले प्रदर्शनकारीहरूलाई हटाएर दुवैको उद्धार गरेको थियो।
त्यो बेलासम्म प्रधानमन्त्री ओली प्रधानमन्त्रीको सरकारी निवासमै थिए। प्रधानमन्त्रीको दक्षिणी गेटमा प्रदर्शनकारीहरूको संख्या बढिरहेको थियो। प्रधानमन्त्री निवासको परिसरको सुरक्षामा सशस्त्र प्रहरी, भित्री सुरक्षामा सेना अनि गेटमा प्रहरी खटिएका थिए।
गेटको सुरक्षामा खटिएको सुरक्षाकर्मीहरूले जोखिम बढिरहेको सूचनासँगै देउवा दम्पती आफ्नै घरमा कुटिएको सूचना पूर्याएपछि भने प्रधानमन्त्री ओली माहौल बिग्रिएको चाल पाएर झस्किएका थिए।
प्रधानसेनापतिको सन्देश “राजीनामा दिनु अनि मात्र उद्धार”
प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासभित्र छिर्ने जोखिम रहेको सूचना पाएपछि प्रधानमन्त्री ओलीले प्रधानसेनापति सिग्देललाई फोन गरेर बालुवाटारको सुरक्षा अवस्थाबारे भन्दै “सेनाको संख्या बढाउन” भनेका थिए। स्रोतका अनुसार सिग्देलले वास्ता गरेनन्।
उता सशस्त्र प्रहरी बलबाट पनि राम्रो प्रतिक्रिया नआएपछि उनले प्रधानमन्त्री निवासमा बस्न चाहेनन्। उनले बाहिर निसक्न सक्ने अवस्थाबारे बुझ्दा निवासमा रहेका सुरक्षाकर्मीले सम्भव नभएको, सडकमा प्रदर्शनकारी रहेको र बालकोटमा रहेको घर समेत जलाइसकेको सूचना दिएपछि उनले पून प्रधानसेनापतिलाई फोन गरेर हेलिकप्टर पठाउन आग्रह गरे।
“प्रधानमन्त्रीज्यूले हेलिकप्टर मगाउँदा उताबाट सर्तको रूपमा पहिला राजीनामा दिनु अनि मात्र भन्ने सन्देश आएपछि निवासभित्रै राजीनामा पत्र तयार भयो। अनि एक व्यक्तिले राष्ट्रपतीलाई जानकारी गराएर राजीनामा लगेका थिए,” जानकारस्रोतले भन्यो “राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएको सूचना पुगेपछि मात्रै सेनाको हेलिकप्टर बालुवाटारको प्रधानमन्त्री निवासमा आएको थियो। त्यसपछि प्रधानमन्त्री र उनको श्रीमतीलाई सेनाले हेलिकप्टरमा राखेर बालुवाटारबाट उड्यो।
उपप्रधानमन्त्रीलाई सेनाको सन्देश “आदेश छैन”
बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, सभामुख देवराज घिमिरे लगायतका नेताहरू समेत थिए। उनीहरू प्रधानमन्त्री ओलीसँगै हेलिकप्टर चढ्न खोज्दा “आदेश छैन” भनेर सेनाले चढ्न दिएन।
बाहिर गेटमा प्रदर्शनकारीको संख्या बढिरहेको थियो। सेनाको गाडी भित्रै थियो। प्रधानमन्त्री निवासका केहीलाई सेनाले गाडीमा राख्यो। प्रहरीले अर्थमन्त्री पौडेललाई सेनाको गाडीमा चढाउन खोज्दा पनि आदेश नभएको जवाफ आयो।
भिडको जोखिम देखेपछि विष्णु पौडेल, सभामुख देवराज घिमिरे लगायकताहरु जसोतसो प्रधानमन्त्रीको निवासबाट बाहिरिएर प्रहरी प्रधान कार्यालय पुग्न सफल भए। उनीहरू पुगेको केही बेरमै गभर्नर विश्व पौडेल पनि प्रहरी प्रधान कार्यालय आए। एमाले महासचिव शङ्कर पोखरेलसहितका नेता समेत सुरक्षा खोज्दै प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए।
नेताहरू प्रहरी प्रधान कार्यालय छिरेको थाहा पाएपछि प्रदर्शनकारीहरू प्रधान कार्यालयभित्र छिर्ने प्रयास गर्दा प्रहरीको विशेष कार्यदलको कमान्ड टोली नै खटिएका थिए। उनीहरूले जोगाए। यो बिचमा संसद्, सिंहदरबारसँगै बालुवाटारमा रहेको प्रधानमन्त्री निवास समेत आगोमा होमियो। राष्ट्रपतीले केपी ओलीको राजीनामा स्वीकृत भएको भन्दै शान्ति कायम गर्न र वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गरे।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानसेनापतिसँग मात्र वार्ता अनि संसद् विघटन पूर्व सर्त राख्न आन्दोलनरत पक्षलाई फेसबुकबाट निर्देशन दिए। बालेनले जे भनेका थिए त्यसै अनुसार राजनीतिक वार्तामा प्रधानसेनापति सिग्देल सक्रिय भए। मंगलबार बेलुका १० बजेबाट सेना बल्ल सडकमा आयो।
शान्ति सुरक्षामा सुधार हुँदै गएपछि संसद् विघटनको सर्तमा सुशीला कार्की प्रधानमन्त्री हुन राजी भइन्। शुक्रवार उनले शपथ खाए लगत्तै संसद् विघटनको सिफारिस गरिन्। राष्ट्रपतीले सदर गरिदिए।
भदौ ३१, २०८२ मंगलबार २१:२१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।