दशैंमा छोरीहरूलाई नयाँ कपडा किनिदिने वाचा गरेका थिए, जेनजी आन्दोलनमा अस्ताए

दशैंमा छोरीहरूलाई नयाँ कपडा किनिदिने वाचा गरेका थिए, जेनजी आन्दोलनमा अस्ताए

काठमाडौं : उदयपुरका सार कुमार राईले सोमबार (भाद्र २३) छोरीहरूलाई यो दशैंमा नयाँ कपडा किनिदिने वाचा गरेका थिए। काठमाडौं बस्ने सार कुमारलाई श्रीमती सुनिता राईले फोनमा भनेकी थिइन्- ‘छोरीहरूलाई दशैंमा कपडा किनिदिनुपर्छ। राम्रोसँग काम गर्नु है,’ सार कुमारले जवाफ दिएका थिए, ‘काम भइरहेकै छ, चिन्ता नगर।’ आमा-बुबाको कुरा सुनिरहेकी कान्छी छोरी खुसीले गदगद भइन्। त्यो दिन त्यत्तिकैमा कुरा सकियो। 

सधैं झै मंगलबार पनि सार कुमारकै नम्बरबाट फोन आयो। आवाज उनको थिएन। तर खबर भने सार कुमारकै थियो। ‘तपाईँका श्रीमान् अस्पतालमा गम्भीर अवस्थामा हुनुहुन्छ, टाउकोमा गोली लागेको छ, तुरुन्त आउनुहोस्।’ सुनिताले जवाफ फर्काउन सकिनन्। उनका आँखाबाट आँसु बग्न थाले। 

देशभर कर्फ्यु लागेको थियो। उदयपुरको दुर्गम गाउँबाट काठमाडौँ पुग्ने उपाय खोज्नै मुस्किल थियो। धेरै समय संघर्ष गरेर गाडीको व्यवस्था मिलाइन्। ऋण गरेर कान्छी छोरीलाई लिएर हिडिन्। झन्डै दोब्बर भाडा तिरेर उनी शुक्रबार मात्रै काठमाडौँ आइपुगिन्।

सुनितालाई फोनमा श्रीमान्लाई गोली लागेको मात्र भनिएको थियो। तर सुनिता काठमाडौं पुग्दासम्म उनका श्रीमान् जीवित थिएनन्। जेनजी आन्दोलनको दोस्रो दिन गौशाला प्रहरी चौकी अगाडि गोली लागेर सार कुमारको मृत्यु भएको थियो। उनले जब यो कुरा थाहा पाइन्। सम्हालिन सकिनन्। श्रीमान्लाई सम्झेर सुनिता भक्कानिइन्। 

हातमा श्रीमानको फोटो समाएर शिक्षण अस्पतालको फरेन्सिक ल्याब अगाडि दुई छोरीहरूसँगै विक्षिप्त भावमा बसिरहेकी सुनितालाई अहिलेसम्म पनि थाहा छैन- श्रीमान् कसरी आन्दोलनमा पुगे।

सार कुमार पेशाले रंगरोगन गर्ने काम गर्थे। बसाइ कपनमा थियो। ठूली छोरीलाई यतै पढाइरहेका थिए। श्रीमती र कान्छी छोरी दुई-तीन वर्षअघिसम्म सँगै बसेका थिए, तर काठमाडौँको महँगी धान्न नसकेपछि कान्छीलाई दश कक्षासम्म गाउँमै पढाएर उच्च शिक्षाको लागि मात्र शहर ल्याउने योजना बनाए। अनि सुनिता र कान्छी छोरी गाँउ फर्किएका थिए। 
दशैं नजिकिँदा रंगरोगनको काम बढ्ने भएकाले सार कुमार व्यस्त थिए। दशैं मनाउन कहिले गाँउ फर्किनेभन्ने बारे श्रीमतीसँग सल्लाह भइरहन्थ्यो। सार कुमार गाँउ त फर्किए तर काठको बाकसमा। 

श्रीमान्को टाउकोमा गोली, परिवारमा बज्रपात

सोमबार त्रिवि शिक्षण हस्पिटलको फरेन्सिक विभाग अगाडि भीडभाडबीच सुनिता र उनकी कान्छी छोरी भुइँमा आँखा झुकाएर बसिरहेका थिए। दुवैको आँखामा आँसु पनि सुकिसकेको थियो। छोरीले मास्क लगाएर आफ्नो बुवाको तस्बिर समाइरहेकी थिइन्। सुनिता कहिले छोरीलाई हेर्थिन्, कहिले श्रीमानको तस्बिरलाई।

त्यहाँ जेनजी आन्दोलनमा शहीद भएकाहरुको परिवारको रुवावासी त थियो नै। धेरैका इष्टमित्रहरू पनि थिए। सुनिताको भने उनी र उनकी छोरीबाहेक अरू कोही थिएनन्। उनको नजिक गएर उभिनासाथ उनले भनिन्, ‘डाक्टरले फोन गरेको कि पुलिसले भन्ने पनि थाहा भएन। तुरुन्त आउनु भनेपछि म त काम्न थालेँ। मलाई सुगर पनि छ।’

सार कुमार टाउकोमा गोली लागेर ढलेका रहेछन्। ‘कसैले मेडिकेयर हस्पिटलमा ल्याइदिएको रहेछ । त्यो खबर सुनेको दिनदेखि होस नै छैन। हस्पिटलमा उहाँलाई हेर्नेबित्तिकै म पनि ढले छु,’ सुनिताले भनिन्।

‘पछि पोस्टमार्टम गर्न भनेर यता ल्याइएको रहेछ। हिजो पनि आउने हिम्मत गर्न सकिनँ। अनि आज भने अब यसरी बस्ने होइन, जे जस्तो भए पनि बाबालाई राम्रोसँग अन्तिम संस्कार गर्नुपर्छ भनेर हामी आमा-छोरी यहाँ बसिरहेका छौँ। हामी राईहरुको आफ्नै रीतिरिवाज अनुसार अन्तिम संस्कार गर्नुपर्ने भएकाले गाउँमै लैजाने कुरा भएको छ,’ उनले छोरीलाई अँगालो हाल्दै भनिन्।

पानी परिरहेको र बाटो कच्ची भएकाले शव हेलिकप्टरमार्फत लैजाने कुरा भइरहेको उनले बताइन्। 

‘राज्यले मेरो दुई छोरीको बारेमा सोचोस्’

‘गाउँमा पनि घर बनाउन सकेका छैनौँ। अस्ति साउनमा श्रीमान्सँग भेटेको थिएँ। त्यतिबेला दशैंमा भेट्ने भनेर छुट्टिएका थियौँ। फोनमा कुरा गर्दा काम धमाधम हुँदै छ भन्नुहुन्थ्यो,’ सुनिता बोल्दाबोल्दै भक्कानिइन्। 

फरेन्सिक विभागमा शव बुझ्दा उनलाई हस्ताक्षर गर्न लगाइयो। त्यसबेला पनि उनले आफूलाई सम्हाल्न सकिनन्। त्यसपछि त्यहाँ रहेका अन्य आफन्तले सबै कागजातको काम गरिदिएका रहेछन्। त्यतिबेला श्रीमान शहीद भएको समाचार पनि उनले सुनेकी थिइन्।

‘समाचार त सुनेको हुँ। तर अब के हुन्छ, के गर्नुपर्छ भनेर नानीको अंकलसँग राम्ररी बसेर केही कुरा गर्न पाएको छैन। म त यहाँ उहाँको शव हेर्नेबित्तिकै लर्याकलुरुक भएँ,’ उनले भनिन्। 

‘आएको दिनदेखि हस्पिटल र आफन्तको कोठाबाहेक आफ्नै कोठा पनि जान सकिनँ। यस्तो अप्ठ्यारो समयमा हामीलाई कसैले पनि भेट्न आएनन्। सहानुभूति दिन पनि आएनन्। सहयोग त परको कुरा। अब के गर्ने हो, के गर्नुपर्छ भन्ने समेत थाहा छैन,’ उनले गुनासो पोखिन।

आज शहीदहरूको शव परिक्रमा गर्दा उनका श्रीमानको शव पनि थियो। परिक्रमा पछि सार कुमारको शव लगेर सुनिता आफ्नो छोरीसँग सेनाको हेलिकोप्टरमा उदयपुर उडिन्। उनकी ठूली छोरीले भर्खर १२ कक्षा पास गरेकी छिन् भने कान्छी छोरी अहिले दश कक्षामा पढ्दैछिन्।

‘अब म एक्लैले दुवै छोरीको बाँकी पढाइ पुरा गर्न सक्छु वा सक्दिन, थाहा छैन। तर राज्यले मेरो बारेमा नभए पनि मेरी दुई छोरीको भविष्यबारे सोचोस्,’ सुनिताले आँसु पुछ्दै भनिन्। 

भदौ ३१, २०८२ मंगलबार २१:३२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।