अर्थमन्त्रीलाई भेटेर नाडा अटोमोबाइल्सको प्रतिनिधिमण्डलले बुझायो २२ बुँदे सुझाव

अर्थमन्त्रीलाई भेटेर नाडा अटोमोबाइल्सको प्रतिनिधिमण्डलले बुझायो २२ बुँदे सुझाव

काठमाडौं : नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी मुलुकको वर्तमान जटिल अवस्था र अटोमोबाइल क्षेत्रका चुनौतीबारे छलफल गरेको छ।

अध्यक्ष चौधरीले मुलुकको शान्ति-सुरक्षा र व्यवसायीको सुरक्षा सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै सरकारले व्यवसायीहरूको मनोबल उच्च बनाउन ठोस नीति ल्याउनुपर्ने धारणा राखे। उनले अटोमोबाइल क्षेत्रले मात्र भन्सार राजस्वमा करिब २७ प्रतिशत योगदान गर्दै आएको उल्लेख गर्दै व्यवसायीलाई विश्वस्त बनाउन र लगानीको वातावरण सुरक्षित गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताए। 

छलफलमा चौधरीले आन्दोलन र तोडफोडका कारण भएको क्षतिको बीमा रकम छिट्टै वितरण गर्नुपर्ने, नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ लागू भएपछि मूल्यवृद्धिको असर सम्बोधन गर्नुपर्ने र पेट्रोल-डिजेल सवारीसाधन कर्जा सीमा ६० प्रतिशतबाट ८० प्रतिशत पुर्याउनुपर्ने लगायतका सुझाव प्रस्तुत गरे।

त्यस्तै, उनले नाडाको तर्फबाट २२ बुँदे सुझाव अर्थमन्त्रीलाई हस्तान्तरण गर्दै सुस्ताएको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक नीतिगत सुधारमा जोड दिए।

अर्थमन्त्री खनालले व्यवसायीहरूले उठाएका मागप्रति ध्यान दिने आश्वासन दिँदै आन्दोलनका कारण अटोमोबाइल क्षेत्रमा ठूलो क्षति भएको स्वीकार गरे। "हामी तथ्याङ्क संकलन गरेर उचित कदम चाल्छौँ। बैंक-वित्तीय संस्थाबाट दिन सकिने सुविधा र करसम्बन्धी व्यवस्थाबारे पनि सरकारले पहल गर्नेछ," उनले भने।

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले तातोपानी भन्सार अवरुद्ध हुँदा सवारीसाधन आपूर्ति प्रभावित भएको समस्या छिट्टै समाधान हुने बताए। उनले व्यवसायीलाई प्रोत्साहन प्याकेज ल्याउने तयारी भइरहेको जानकारीसमेत दिए।

बैठकमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, कार्यसमिति सदस्य आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति पनि उपस्थित थिए।

भदौ ३१, २०८२ मंगलबार १९:५७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।