भोलिबाट बीपी राजमार्ग २४ सै घण्टा खुला हुने

रामेछाप : दशैं-तिहार लगायतका चाडपर्वमा यात्रुहरूको सहज आवागमनका लागि बीपी राजमार्गलाई २४ घण्टा खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको सूचनाअनुसार भोलि असोज १ गतेदेखि राजमार्ग खुला गरिने भएको हो।
यसअघि वर्षातका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो आउने भएकाले काभ्रे भञ्ज्याङ-भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनलाई यात्रुको सुरक्षाका लागि भन्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन निषेध गरिएको थियो। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार भदौ मसान्तसम्म उक्त प्रतिबन्ध लागू गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले यात्रुको माग र चाडपर्वको भीडलाई ध्यानमा राखी असोज १ गतेदेखि राजमार्ग २४ घण्टा सञ्चालन हुने जानकारी दिए। सडक सुरक्षा सजगता अपनाउँदै स्वीकृत कार्ययोजना अनुसार नै यातायात सञ्चालन गरिने जारी सूचनामा उल्लेख छ।
बीपी राजमार्ग वर्षातमा बारम्बार पहिरोका कारण अवरुद्ध हुने हुँदा यात्रु जोखिममा पर्ने गरेका छन्। तर चाडपर्वमा यात्रुको चापलाई व्यवस्थापन गर्न सुरक्षासँगै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी राजमार्गलाई खुला राख्ने निर्णय भएको प्रशासनले जनाएको छ।
भदौ ३१, २०८२ मंगलबार १८:०६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।