राष्ट्रपति ज्यूले सबै दललाई समेटेर बृहत् मन्त्रिपरिषद् बनाउन सुझाव दिनुभयो, मैले मानिन्’

राष्ट्रपति ज्यूले सबै दललाई समेटेर बृहत् मन्त्रिपरिषद् बनाउन सुझाव दिनुभयो, मैले मानिन्’
तस्विर : बीबीसी नेपाली सेवा

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलले सबै पार्टीबाट एक-एक जना चुनेर मन्त्रिपरिषद् गठन गर्न दिएको सुझाव अस्वीकार गरेको बताएकी छिन्।

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा उनले राजनीतिक दलका सदस्यलाई मन्त्री बनाउन आफू तयार नभएको भन्दै गैरराजनीतिक मान्छेलाई मात्र मन्त्री बनाउने स्पष्ट पारिन्। 

उनले मन्त्रालयमा दलित, महिला, जनजाति र पिछडिएका वर्गका प्रतिनिधि तथा पूर्व सचिवजस्ता पेशागत अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिने बताइन्। ‘निर्वाचनमा जाने मान्छे होइन, चुनावमा नगइकन योगदान गर्न सक्ने व्यक्तिहरू खोजेका हौँ,’ कार्कीले भनिन्। 

प्रधानमन्त्री कार्कीले प्रस्तावित नामहरूको पृष्ठभूमि केलाउने प्रयास गरिरहेको भन्दै अबको केही दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताइन्। मन्त्रिपरिषद् १० देखि ११ सदस्यीय मात्र बनाउने उनले बताइन्। 

कार्कीले तोकिएको समयभित्रै चुनाव सम्पन्न गर्ने दाबी गरिन्। यसअघि नियुक्त भइसकेका मन्त्रीहरूमा पूर्व अर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन व्यवसायी तथा भ्रष्टाचारविरोधी अभियन्ता ओमप्रकाश अर्याल छन्।

भदौ ३१, २०८२ मंगलबार १६:१३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।