मन्त्री बन्न फकाउन गएकी सुशीलालाई डा. रुइतको जवाफ- ‘बिरामी छाडेर आउँदिनँ’

मन्त्री बन्न फकाउन गएकी सुशीलालाई डा. रुइतको जवाफ- ‘बिरामी छाडेर आउँदिनँ’

काठमाडौं : वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा सहभागी हुने प्रस्ताव अस्वीकार गरेका छन्।

मंगलबार प्रधानमन्त्री कार्की स्वयं तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा. रुइतलाई सरकारमा सहभागी हुन आग्रह गरेकी थिइन्, तर डा. रुइतले आफूले बिरामी र अस्पताल छाड्न नसक्ने भन्दै प्रस्ताव अस्वीकार गरेका हुन्।

‘जेन-जी’ आन्दोलनपछि गठन भएको अन्तरिम सरकारलाई पूर्णता दिने क्रममा प्रधानमन्त्री कार्कीले डा. रुइतसँग छलफल गरेकी थिइन्। भेटका क्रममा प्रधानमन्त्रीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले देशका लागि योगदान दिन आग्रह गरेकी थिइन्।

जवाफमा डा. रुइतले सरकारलाई सधैँ आफ्नो साथ र सहयोग रहने तर मन्त्री पदमा बसेर काम गर्न नसक्ने स्पष्ट पारेका थिए।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो अडान स्पष्ट पारे। मन्त्रिपरिषद्मा सहभागी हुनेबारे सोधिएको प्रश्नमा उनले भने, ‘यहाँ छोडेर आउने? यत्रो काम छ, यहाँ छोडेर आउने? बिरामीलाई छाडेर आउँदिनँ।’

‘जेन-जी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा डा. रुइतजस्ता प्रतिष्ठित व्यक्तिलाई मन्त्री बनाउनुपर्ने चर्चा चलेको थियो। तर, उनले आफू चिकित्सकीय पेसामार्फत नै नागरिकको सेवामा समर्पित रहने बताउँदै आएका छन्।

भदौ ३१, २०८२ मंगलबार १३:५०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।