असोजमा १० वटा वाणिज्य बैंकले ब्याजदर घटाउँदा दुईटाले बढाए

असोजमा १० वटा वाणिज्य बैंकले ब्याजदर घटाउँदा दुईटाले बढाए

काठमाडौं : अधिकांश वाणिज्य बैंकहरूले असोज महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्।

कर्जाको मागमा आएको सुस्तता र नेपाल राष्ट्र बैंकको नीतिका कारण बैंकहरूले लगातार तेस्रो महिना ब्याजदर घटाएका हुन्, जसले आगामी दिनमा कर्जाको ब्याजदर थप सस्तिने सङ्केत गरेको छ।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार, व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.११३५ प्रतिशत विन्दुले घटेर ५.४६ प्रतिशतमा झरेको छ।

भदौ महिनामा यस्तो औसत ब्याजदर ५.५७ प्रतिशत थियो। अब व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले दिने अधिकतम ब्याजदर ६ प्रतिशतमा सीमित भएको छ।

असोजका लागि १० वटा बैंकले ब्याजदर घटाएका छन्, जसमा कृषि विकास, एभरेस्ट, एनआईसी एसिया, प्राइम कमर्सियल, कुमारी, सानिमा, नेपाल एसबीआई, एनएमबी, र सिटिजन्स बैंक रहेका छन्।

यस्तै, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, सिद्धार्थ, हिमालयन, प्रभु र इन्भेस्टमेन्ट मेगासहित ७ बैंकले आफ्नो ब्याजदर यथावत् राखेका छन्। लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने मुद्दती निक्षेपको ब्याजदरमा सामान्य वृद्धि गरेका छन्।

बजारमा लगानीयोग्य रकम (तरलता) सहज अवस्थामा भए पनि कर्जाको माग बढ्न नसक्दा बैंकहरू निक्षेपको ब्याजदर घटाउन बाध्य भएका हुन्। यसका साथै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएर ४.५ प्रतिशतमा झारेपछि त्यसको प्रत्यक्ष असर ब्याजदरमा देखिएको हो।

निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दरमा कमी आउँछ, जसले गर्दा कर्जाको ब्याजदर पनि स्वतः घट्छ। यसले नयाँ कर्जा लिने वा पुरानो कर्जा नवीकरण गर्ने ग्राहकलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

भदौ ३१, २०८२ मंगलबार १३:३७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।