नारायणी अस्पतालको स्टोरमा आगलागी, मानवीय क्षति हुनबाट जोगियो

वीरगन्ज : वीरगन्जस्थित नारायणी अस्पतालमा आज बिहान आगलागी भएको छ।
अस्पतालको बाल सघन उपचार कक्ष (एनआईसीयू) नजिकैको स्टोर रुममा विद्युत् सर्ट सर्किट भएर आगो लागेको हो। आगलागीबाट कुनै मानवीय क्षति नभए पनि केही उपकरणहरू जलेर नष्ट भएका छन्।
अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, बिहान करिब ४ बजे सुरू भएको आगोलाई अस्पतालका कर्मचारी, सुरक्षाकर्मी र वीरगन्ज महानगरपालिकाको दमकलको सहायतामा करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो।
डा. सिंहले आगलागीबाट मानवीय क्षति नभएको तर स्टोरमा राखिएका केही महत्त्वपूर्ण उपकरणहरूमा क्षति पुगेको बताए। क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उनको भनाइ छ।
अस्पतालका कर्मचारीहरूले भने पुरानो विद्युतीय तारमा बढेको लोडका कारण सर्ट सर्किट भएको हुन सक्ने अनुमान गरेका छन्।
नारायणी अस्पताल पर्सा, बारा, रौतहट लगायत छिमेकी जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रका समेत बिरामीको उपचार हुने प्रमुख स्वास्थ्य केन्द्र हो। यहाँ दैनिक १२ सयभन्दा बढी बिरामीले सेवा लिने गरेका छन्।
भदौ ३१, २०८२ मंगलबार १३:२२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।