आफूविरुद्ध समाचार आएपछि न्युयोर्क टाइम्सविरुद्ध २१ खर्बको मानहानी मुद्दा हाल्दै ट्रम्प

आफूविरुद्ध समाचार आएपछि न्युयोर्क टाइम्सविरुद्ध २१ खर्बको मानहानी मुद्दा हाल्दै ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब अमेरिकी डलर (करिब २१ खर्ब १४ अर्ब नेपाली रुपैयाँ) को मानहानी मुद्दा हाल्ने चेतावनी दिएका छन्।

पत्रिकाले आफ्नो परिवार र व्यवसायबारे निरन्तर झुट फैलाएको आरोप लगाउँदै उनले फ्लोरिडा राज्यमा मुद्दा दायर गर्ने बताएका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भने, ‘न्युयोर्क टाइम्सले दशकौंदेखि मेरो विरुद्धमा झुटा समाचार छाप्दै आएको छ। यो वामपन्थीहरूको भाषा बोल्छ र डेमोक्रेटिक पार्टीको प्रचारक बनेको छ।’

उनले पत्रिकाले कमला ह्यारिसको समर्थनमा पहिलो पृष्ठमा लेख छापेको तर ‘अमेरिका फर्स्ट’ र ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानको भने सधैँ विरोध गर्ने गरेको आरोप लगाए।

ट्रम्पले अगाडि लेखेका छन्, ‘यो पत्रिकाले लामो समयदेखि भिडियो र कागजातहरूमा हेरफेर गरेर अफवाह फैलाइरहेको छ, जुन गैरकानुनी हो। यसलाई रोक्नुपर्छ र म यो गर्न जाँदैछु भन्नेमा गर्व छ।’

बदनाम फाइनान्सर जेफ्री एपस्टिनसँग ट्रम्पको सम्बन्धबारे न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेपछि उनको यो कडा प्रतिक्रिया आएको हो।

भदौ ३१, २०८२ मंगलबार १२:३८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।