चितुवाले आक्रमण गर्दा बाँकेमा एक महिलाको मृत्यु

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका-३, सिनावासमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
आइतबारदेखि हराइरहेकी स्थानीय ४५ वर्षीया लक्ष्मी थारु सोमबार सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी हुन्।
डिभिजन वन कार्यालय, बाँकेका प्रमुख शंकर गुप्ताका अनुसार, जनमुखी सामुदायिक वनको पुरानो पानी ट्याङ्की नजिकै उनको शव भेटिएको थियो।
शव भेटिएको स्थानमा चितुवाको पाइला देखिएपछि त्यस क्षेत्रमा क्यामेरा जडान गरिएको थियो। क्यामेरामा एउटा भाले चितुवा हिँडडुल गरिरहेको देखिएपछि आक्रमण चितुवाले नै गरेको पुष्टि भएको हो।
घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। वन कार्यालयले नरभक्षी चितुवालाई नियन्त्रणमा लिन आज प्राविधिक टोली पठाउने तयारी गरेको छ।
‘क्यामेराले चितुवाको गतिविधि पुष्टि गरिसकेको छ, अब प्राविधिक टोलीले त्यसलाई नियन्त्रणमा लिनेछ’, प्रमुख गुप्ताले भने।
मृतक थारुको शव पोस्टमार्टमका लागि पठाइएको छ। प्रक्रिया पूरा गरी वडाको सिफारिसमा मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइने वन कार्यालयले जनाएको छ।
भदौ ३१, २०८२ मंगलबार ११:५३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।