झलनाथकी श्रीमतीको आईसीयूमा राखेर उपचार हुँदै, खतरामुक्त छैन अवस्था

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको अवस्था गम्भीर रहेको छ।
प्रदर्शनकारीले घरमा लगाएको आगोबाट घाइते भएकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनको फोक्सोमा असर परेकाले अवस्था खतरामुक्त भन्न सकिने स्थिति छैन।
अस्पताल स्रोतले दिएको जानकारीअनुसार, उनको शरीरको १५ प्रतिशत भाग जलेको भए पनि धुवाँको मुस्लोका कारण फोक्सोमा गम्भीर असर परेको छ, जसले गर्दा उनको स्वास्थ्य अवस्था जटिल बनेको हो।
‘उपचार चलिरहेको छ, तर अवस्था खतरामुक्त भन्न मिल्दैन। उहाँको फोक्सोमा असर गरेकाले आईसीयूमा राखेर उपचार जारी राखिएको छ,’ अस्पताल स्रोतले उकेरासँग भन्यो, ‘विशेषगरी देब्रे हातमा एकदमै गहिरो जलन छ।’
केही दिनअघि प्रदर्शनका क्रममा प्रदर्शनकारीको एक समूहले डल्लुस्थित खनाल निवासमा आगजनी गरेको थियो। सोही घटनामा परी चित्रकार गम्भीर घाइते भएकी थिइन्।
घटनालगत्तै उनलाई उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप विशेषज्ञ उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा सारिएको हो।
हाल चिकित्सकहरूको टोलीले उनको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको छ।
भदौ ३१, २०८२ मंगलबार १०:४८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।