पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालनमा

म्याग्दी : पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेनी-जोमसोम सडक आज बिहानबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा ठूलो पहिरो खसेपछि ७६ किलोमिटर लामो यो सडकखण्डमा सिधा यातायात ठप्प भएको थियो।
घाँसा प्रहरी चौकीका अनुसार, नेपाली सेनाको टोलीले विस्फोटक पदार्थ प्रयोग गरी ठूला चट्टान फुटाएपछि डोजरको सहायताले पहिरो पन्छाइएको थियो।
सडक आयोजनाका प्राविधिक र सुरक्षाकर्मीको संयुक्त प्रयासबाट गएराति १० बजे सडक खुलाइएको हो। सडक खुलेसँगै म्याग्दी र मुस्ताङतर्फ रोकिएका सयौँ सवारीसाधनहरू आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।
सडक अवरुद्ध हुँदा सोह्रश्राद्धका लागि मुस्ताङको कागबेनी जाने तीर्थयात्री, पर्यटक तथा स्थानीयवासी अलपत्र परेका थिए। साथै, मुस्ताङबाट स्याउ र आलु बोकेका र चीनको कोरला नाकाबाट दशैंका लागि सामान ल्याएका कन्टेनरहरू पनि रोकिएका थिए।
हाल सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी नाका बन्द रहेकाले दशैंका लागि आवश्यक सामग्री चीनको कोरला नाका हुँदै यही सडकबाट भित्र्याइँदै छ, जसका कारण यो सडकमा सवारीको चाप बढेको छ।
भदौ ३१, २०८२ मंगलबार ०८:४०:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।