स्वास्थ्य बीमामा ठगी गर्ने कोशी अस्पतालका तीन कर्मचारी बर्खास्त

विराटनगर : कोशी अस्पतालको फार्मेसीमा कार्यरत तीन जना करार कर्मचारीलाई स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको आरोपमा सेवाबाट बर्खास्त गरिएको छ।
बर्खास्त हुनेमा दुई फार्मेसी सहायक र एक कार्यालय सहयोगी छन्। अस्पताल प्रशासनले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाउँदै नाम भने गोप्य राखेको छ।
अनुसन्धानका क्रममा उनीहरूले बिरामीलाई औषधि कम दिने तर बीमाबाट बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि बिलमा चढाउने तथा बिरामीको नाममा अनावश्यक रूपमा ठूलो मात्रामा औषधि देखाएर अनियमितता गर्ने गरेको पाइएको थियो।
एक क्यान्सरपीडित बिरामीको उजुरीपछि यो घटना सार्वजनिक भएको हो। चिकित्सकले सात दिनका लागि मात्र औषधि लेखिदिएकोमा आफ्नो बीमा खाताबाट एक महिना बराबरको रकम काटिएको थाहा पाएपछि ती बिरामीले अस्पतालमा लिखित उजुरी दिएका थिए।
मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले लिखित उजुरीपछि छानबिन समिति गठन गरिएको र समितिले अनियमितता पुष्टि गरेपछि कर्मचारीलाई बर्खास्त गरिएको बताए।
उनले भने, ‘पहिले पनि मौखिक गुनासो आउने गरे पनि लिखित उजुरी आएपछि हामीले गहिरो अनुसन्धान गर्यौँ र आरोप प्रमाणित भयो।’
कोशी अस्पतालमा दैनिक करिब एक हजार बिरामी आउने गर्छन्, जसमध्ये आधाभन्दा बढी स्वास्थ्य बीमाका सदस्य हुन्छन्। विशेषगरी, उच्च रक्तचाप, मधुमेह, दम जस्ता दीर्घरोगीहरूको चाप उच्च छ, जसले गर्दा बीमा सेवाको माग बढी छ।
मेडिसिन विभाग प्रमुख डा. दीपक सिग्देलका अनुसार लामो समय औषधि सेवन गर्नुपर्ने दीर्घरोग युवापुस्तामा समेत बढ्दै गएको छ।
सरोकारवालाहरूले बीमित बिरामीको बढ्दो चापलाई ध्यानमा राख्दै औषधि आपूर्ति र बिलिङ प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
भदौ ३१, २०८२ मंगलबार ०८:०७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।