आगजनीले क्षतिग्रस्त कास्की प्रशासनद्वारा दुई कोठाबाट सीमित सेवा शुरू

आगजनीले क्षतिग्रस्त कास्की प्रशासनद्वारा दुई कोठाबाट सीमित सेवा शुरू

कास्की : भदौ २४ गते 'जेनजी' प्रदर्शनका क्रममा भएको आगजनीले क्षति पुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबारदेखि दुईवटा कोठाबाट सीमित सेवा प्रवाह थालेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार हाललाई शान्ति सुरक्षा, मुद्दाको म्याद थप, विपद् व्यवस्थापन र अत्यावश्यक दैनिक प्रशासनिक कार्यहरू सञ्चालनमा ल्याइएको छ।

उनले भने, ‘तत्कालका लागि दुईवटा कार्यकक्षबाट सेवा सुरु गरेका छौँ। अन्य कक्षहरूको मर्मत भइरहेकाले सेवा विस्तारबारे क्रमशः जानकारी गराइनेछ।’

आगजनीबाट मुख्य भवन र सवारीसाधनमा क्षति पुगेकाले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता महत्त्वपूर्ण सेवाहरू भने तत्काल सुरु गर्न चुनौतीपूर्ण रहेको प्रजिअ शर्माले बताए।

यी सेवाहरू मर्मतसम्भारपछि क्रमशः सञ्चालन गरिने उनको भनाइ छ।

उक्त आगजनीबाट प्रभावित भएका पोखराका अन्य सरकारी कार्यालयहरूको सेवा पनि अझै सहज हुन सकेको छैन।

मालपोत, नापी, यातायात व्यवस्था कार्यालयलगायतमा सेवा अवरुद्ध छ भने पोखरा महानगरपालिकाले पनि पूर्ण रूपमा सेवा सुरु गर्न सकेको छैन।

भदौ ३१, २०८२ मंगलबार ०७:५१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।