चाडपर्वलाई लक्षित गर्दै बिपी राजमार्ग असोज १ देखि २४ सै घण्टा खुला

काभ्रेपलाञ्चोक : मनसुनको जोखिमका कारण रात्रिकालीन समयमा बन्द हुँदै आएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ।
दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकको सुरक्षा समितिले सोमबार यस्तो निर्णय गरेको हो।
मनसुन बाहिरिने क्रममा रहेको र यात्रुको सहजतालाई ध्यानमा राख्दै स्वीकृत सडक सुरक्षा कार्ययोजनाअनुसार राजमार्ग पूर्ण रूपमा खुला गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
गत असार पहिलो सातादेखि मनसुनमा बाढीपहिरोको जोखिम बढेको भन्दै प्रशासनले राजमार्गको काभ्रेपलाञ्चोकको धुलिखेलदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म रातिको समयमा सवारी आवतजावतमा रोक लगाएको थियो।
पटकपटक सूचना जारी गर्दै भदौ मसान्तसम्म रात्रिकालीन समयमा १२ घण्टा सवारी सञ्चालनमा रोक लगाइएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार, मनसुन सक्रिय रहँदा राजमार्गमा सम्भावित विपद् न्यूनीकरणका लागि रात्रिकालीन यात्रामा रोक लगाइएको थियो।
उनले भने, ‘अब चाडपर्वमा यात्रुको सहजताका लागि पूर्ण रूपमा सडक खुला गर्ने निर्णय भएको हो।’
गत वर्षको बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुली खण्डका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको थियो, जसको स्थायी निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ।
पूर्वी नेपाल जोड्ने यो छोटो दूरीको राजमार्गमा दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्।
भदौ ३१, २०८२ मंगलबार ०७:४३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।