उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू : आपूर्ति मन्त्रालय

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थको आपूर्ति सहज रहेको जनाएको छ।
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बजारमा कुनै अभाव नभएकाले अनावश्यक रूपमा वस्तु सञ्चित नगर्न उपभोक्तासँग आग्रह गरेको हो।
मन्त्रालयका अनुसार बजार अनुगमनलाई कडाइ गर्ने र आपूर्ति शृङ्खलामा अवरोध पुर्याउने वा उपभोक्ताको अधिकार हनन गर्नेहरूमाथि कारबाही गरिनेछ।
आसन्न चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत देशभर १५३ स्थानमा सहुलियत मूल्य पसल आजैदेखि सञ्चालनमा ल्याइएको पनि विज्ञप्तिमा उल्लेख छ।
हालैको विशेष परिस्थितिबाट उद्योग, वाणिज्य, व्यापार र आपूर्ति क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न मन्त्रालयले निजी क्षेत्रका प्रतिनिधिहरूसँग आजै छलफल गरेको प्रवक्ता एवं सहसचिव जीतेन्द्र बस्नेतले जानकारी दिए।
छलफलमा तोडफोड र आगजनीबाट प्रभावित संरचनाको विवरण संकलन गर्ने, लगानी सुरक्षित गर्ने, व्यावसायिक वातावरण सुधार गर्ने र क्षतिग्रस्त संरचनाको पुनःस्थापना गर्ने विषयमा पनि निर्णय भएको उनले बताए।
भदौ ३०, २०८२ सोमबार २१:५८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।