आगोले डढेको प्रहरी कार्यालय कमेडियनहरूको सक्रियतामा चम्कियो

काठमाडौं : जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको काठमाडौंको ढल्कुस्थित प्रहरी कार्यालय पुनः सञ्चालनमा आउने भएको छ। कमेडियनहरूको पहलमा कार्यालय सरसफाइ र रंग रोगन सम्पन्न भएपछि कार्यालय सञ्चालनयोग्य बनेको हो।
सजन श्रेष्ठ, सुमन कार्की, पुजन अधिकारीलगायतका कमेडियन तथा युवाहरूको सक्रिय सहभागितामा क्षतिग्रस्त प्रहरी कार्यालयमा सरसफाइ, मर्मत तथा रङ रोगन गरिएको हो।
कमेडियन सुमन कार्कीले समुदायको सुरक्षाका लागि प्रहरीको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रहरीलाई काममा फर्काउन सबैले हातेमालो गर्न समेत आग्रह गरे।
‘चाडपर्व नजिकिदै छ। आन्दोलनको क्रममा कैयौं सरकारी भवन ,प्रहरी बिट ,चौकी क्षतिग्रस्त छन्। प्रहरीलाई आफ्नो कार्यक्षेत्रमा फर्कन हामी सबैले हातेमालो गरौं। समुदायमा प्रहरी सधैं आवश्यक छ,’ कमेडियन सुमन कार्कीले भने।
उनीहरूले भौतिक संरचना मात्र होइन, सामाजिक सद्भाव पुनःस्थापना गर्न पनि योगदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको बताएका छन्।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षति पुर्याएका सार्वजनिक संरचनाहरूलाई पुनःस्थापना गर्न कलाकारहरूको यो कदमलाई प्रहरीले पनि स्वागत गरेका छन्।
भदौ ३०, २०८२ सोमबार २१:१५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।