राजस्व कार्यालय बुटवलमा लुटपाटबाट १० करोड बढी क्षति, चोरेका सामान फिर्ता गर्न सूचना निकालियो

बुटवल : जेनजी आन्दोलनका क्रममा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा लुटपाट र चोरीबाट १० करोड बढी क्षति भएको कार्यालयले जनाएको छ।
तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिहरूको फोटो तथा भिडियोहरू मार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले राजस्व अनुसन्धान कार्यालयबाट यस्ता सामाग्री लिएको वा प्राप्त गरेको भए उक्त सामाग्रीहरू राजस्व अनुसन्धान कार्यालय बुटवल वा नजिकको प्रहरी कार्यालयमा बुझाउन कार्यालयले सोमबार एक सूचना जारी गरि अनुरोध गरेको छ।
कार्यालयबाट लगिएका सामान समयमा नबुझाए अनुसन्धानका क्रममा पहिचान हुँदा कानुन बमोजिम कारवाही हुने समेत प्रमुख अनुसन्धान अधिकृतले सुवास श्रेष्ठले जारी गरेको सूचनामा जनाइएको छ। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा २४ गते बुटवलका विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयहरूमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा राजस्व अनुसन्धान कार्यालय बुटवलका सवारी साधनहरू, टिभि, कम्प्युटर सेट, ल्यापटप, फर्निचर, भाडा बर्तन लगायत विभिन्न कार्यालय सामाग्रिहरू तोडफोड, आगजनी, चोरी एवं लुटपाट भएको प्रमुख अनुसन्धान अधिकृत श्रेष्ठले जानकारी दिए।
यस्तै राजस्व अनुसन्धान कार्यालयले विभिन्न स्थानहरूबाट बरामद भएका कपडा, जुत्ता, भेप, सेक्स टोयज, मदिरा, चिनि, चामल, लगायतका बरामद गरेका सामानहरू चोरी एवं लुटपाट भएको जनाइएको छ।
भदौ ३०, २०८२ सोमबार २०:४५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।