कर्णालीमा जेनजी आन्दोलनको क्षति : तोडफोड र आगजनीबाट ६० संरचना र ४५ सवारीसाधनमा क्षति

सुर्खेत : कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा भदौ २४ गते जेनजी आन्दोलनकारीहरूले सरकारी, निजी, पार्टी कार्यालय र संस्थाका गरी ६० वटा संरचनामा तोडफोडसँगै आगजनी गरेका छन्। सरकारी र निजी गरेर ४५ वटा सवारीसाधनमा क्षति पुगेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले १० वटै जिल्लामा रहेका इन्सेक प्रतिनिधिसँगै मिडिया मोनिटरिङ गरी तयार पारेको प्रारम्भिक विवरणमा सबैभन्दा बढी क्षति सुर्खेतमा भएको कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिए।
प्रदेशका १० जिल्ला मध्ये सुर्खेत, जुम्ला, कालिकोट, मुगु र डोल्पामा सरकारी कार्यालय, संस्थाका कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, सरकारी निवास र जनप्रतिनिधिका निजी निवासमा तोडफोड र आगजनी गरिएको छ।
जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रुकुमपश्चिममा भने जेनजी आन्दोलनकारीहरूले प्रदर्शन गरे पनि सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड नभएको इन्सेकको तथ्याङ्कले देखाएको छ।
सुर्खेतमा २०८२ भदौ २३ गते आन्दोलन सुरु भए पनि सो दिन शान्तिपूर्ण थियो। तर दोस्रो दिन २४ गते मात्र २८ वटा सरकारी संरचना, आठ वटा निजी सम्पत्ति, पाँच वटा पार्टी कार्यालय र तीन वटा संघ–संस्थाका कार्यालय गरी ४४ वटा संरचनामा आन्दोलनकारीहरूले तोडफोड र आगजनी गरेका हुन्।
आन्दोलनकारीहरूले वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश सभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, झुप्रा बृहत खानेपानी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मुख्यान्याधिवक्ताको कार्यालय, वीरेन्द्रनगर नगरपालिकाका वडा कार्यालयहरू, उच्च सरकारी वकिलको कार्यालय, भेरी बबई डाइभर्सन आयोजना, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, श्रीकृष्ण मावि, मुख्यमन्त्री, कृषिमन्त्री र भौतिक मन्त्रीका निवास, हिमाली पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखालगायतका सार्वजनिक कार्यालयमा क्षति पुर्याएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनमोर्चाका पार्टी कार्यालयमा समेत आगजनी भएको छ। त्यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवास, मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास, नगर प्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनालको निजी निवास, प्रदेश अस्पतालका पूर्व निर्देशक डा. डम्बर खड्काको निवास, विष्णु खड्काको माया पेट्रोल पम्पमा पनि तोडफोड र आगजनी भएको छ। प्रदेश सभामा रहेको एनआइसी एशिया बैंकको एटिएमसमेत तोडफोड र जलाइएको छ।
सुर्खेतमै आन्दोलनकारीहरूले लगाएको आगजनीका कारण ११ सरकारी गाडी, आठ मोटरसाइकल, दुई निजी गाडी र पाँच मोटरसाइकल क्षति भएका छन्।
जुम्लामा एक सरकारी कार्यालय र पाँच पार्टी कार्यालय गरी छ वटा संरचना क्षतिग्रस्त भएका छन्। त्यहाँ आठ सरकारी गाडी, ११ मोटरसाइकल तोडफोडसँगै आगजनीमा परेका छन्। आन्दोलनकारीहरूले एम्बुलेन्स, शववाहन र दमकलसमेत तोडफोड गरेका छन्।
कालिकोटमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, समाजवादी, नेमकिपा र राप्रपाका सात वटा पार्टी कार्यालयमा आगजनी गरिएको छ।
मुगुमा कांग्रेस र एमाले पार्टी कार्यालय तोडफोड हुनुका साथै छायाँनाथ रारा नगरपालिकामा आन्दोलनकारीहरूले नगर प्रमुखको कार्यकक्षभित्र पसेर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जलाएका थिए।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट बगरस्थित कांग्रेस नगर समिति कार्यालय रहेको स्थानीय घरमा पनि आन्दोलनकारीहरूले ढुङ्गामुढा प्रहार गरी तोडफोड गरेका थिए।
भदौ ३०, २०८२ सोमबार २०:२६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।