अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय, शहिद घोषणा र सार्वजनिक बिदा

काठमाडौं : सरकारले जेनजी स्मृति पार्क बनाउने भएको छ। नयाँ सरकार गठन पछि सोमबार सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकमा भएका निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका शहिदहरूको स्मृतिमा पार्क निर्माण गरिने जानकारी दिए।
सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरूप १० लाख र अन्य शीर्षकमा ५ लाख गरि जम्मा १५ लाख दिने निर्णय गरेको छ। उनले अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालयले र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट उक्त राहत वितरण गरिने बताए। यस्तै, सरकारले घाइतेहरूको पनि निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
आजको मन्त्रीपरिषद्ले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई शहीद घोषणा समेत गरेको छ। साथै सबै शहिदहरूलाई राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय पनि भएको मन्त्री अर्यालले बताए।
सरकारले प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ। पूर्व न्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय भएको अर्यालले जानकारी दिए।
यसैगरी सरकारले आगामी असोज १ गते शोक विदा दिने भएको छ।
भदौ ३०, २०८२ सोमबार १९:१२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।