फिल्म हलहरूमा भएको तोडफोड र आगजनीप्रति निर्माता संघको आपत्ति, कारबाहीको माग

काठमाडौं : भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानका सिनेमाघरमा भएको तोडफोड र आगजनी घटनाप्रति नेपाल चलचित्र निर्माता संघले गम्भीर आपत्ति जनाएको छ।
संघले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा आन्दोलनमा अराजक तत्वहरूको घुसपैठका कारण फिल्म क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै यस्ता घटना सम्पूर्ण चलचित्र समुदायका लागि गम्भीर चिन्ताको विषय भएको जनाएको छ।
संघका अध्यक्ष नवल खड्काले जारी विज्ञप्तिमा भनेका छन्, “सिनेमाघरहरू केवल मनोरञ्जनका केन्द्र मात्र होइनन्, राष्ट्रिय संस्कृतिको संरक्षण, संवर्द्धन र चलचित्र बजार विस्तार गर्ने आधारशिला हुन्। त्यसैले यस्ता सांस्कृतिक संरचनामाथि भएको तोडफोड र आगजनी लोकतान्त्रिक मूल्य-मान्यताको ठाडो उल्लङ्घन हो।”
संघले अन्तरिम सरकारलाई असामाजिक तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। साथै, प्रभावित हल व्यवसायीलाई क्षतिपूर्ति दिलाई पुनःस्थापना गर्ने र सम्पूर्ण चलचित्र उद्योगको संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ।
आन्दोलनका क्रममा देशभर कम्तीमा पाँचवटा हलमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। तीमध्ये विराटनगरस्थित भाटभटेनी सपिङ मलभित्र रहेको क्यूएफएक्स मल्टीप्लेक्स पूर्ण रूपमा जलेको छ भने बालाजुस्थित अष्टनारायण हलको अगाडिको सिसा तोडफोड भएको छ। यस्तै, बुटवल र भक्तपुरको भाटभटेनीभित्र रहेका क्यूएफएक्स हलका टिकट काउन्टरहरू पनि पूर्ण रूपमा नष्ट भएका छन्।
चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार अनुमानित १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। यद्यपि वास्तविक क्षति अझ बढ्न हुनसक्ने सम्भावना छ।
भदौ ३०, २०८२ सोमबार १८:३८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।