जेनजी प्रदर्शनमा मारिनेको पोस्टमार्टम रिपोर्ट : अधिकांशको छाती र टाउकोमा गोली

जेनजी प्रदर्शनमा मारिनेको पोस्टमार्टम रिपोर्ट : अधिकांशको छाती र टाउकोमा गोली
घाइते भएर उपचारका लागि नीजामती अस्पतालमा पूर्याइएका एक घाइते। तस्बिर : उपेन्द्र।

काठमाडौँ : जेन्जी पुस्ताले गरेको आन्दोलनमा मारिएका अधिकांश प्रदर्शनकारीको टाउको र छातीमा गोली लागेको खुलेको छ। शवको पोस्टमार्टममा मृत्युको कारण संवेदनशील अङ्गमा गोली प्रहार देखिएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार टाउको र छातीमा गोली लाग्नेहरूमध्ये अधिकांशको छातीमा गोली लागेको छ। कुनै जलेका र केही लडेर मृत्यु भएकाहरूको शव समेत पोस्टमार्टमका लागि महाराजगन्ज चिकित्सा क्याम्पस अन्तर्गतको फरेन्सीक विभागमा पूर्याइएको छ।

‘सबै मृतकको कम्मरभन्दा माथि प्रायः टाउको र छातीमा गोली लागेको छ,’ शिक्षण अस्पताल स्रोतले उकेरासँग भन्यो,‘त्यो भन्दा तल लागेको भए त मान्छे मर्ने नै थिएन।’

अधिकांशको शरीरमा अगाडिबाट अनि केहीको शरीरको पछाडिबाट गोली लागेको देखिएको छ।

विभागमा सोमबार बेलुकासम्म आन्दोलनका क्रममा मारिएका ४६ वटाको शव पोस्टमार्टमका लागि पुर्याइएको छ। जसमध्ये दुई वटा महिलाको र बाँकी सबै पुरुषको शव भएको स्रोतले जानकारी दियो।

पोस्टमार्टमका लागि पुर्याइएकामध्ये अधिकांश १६ देखि ४३ वर्षसम्मका छन्। त्यसमध्ये पनि अधिकांश ३० वर्ष मुनिका देखिन्छन्।

४ ६मध्ये सात वटा शव जलेको अवस्थामा छन्। अर्को एउटा शव चिनिने अवस्थामा नै रहे पनि पहिचान भने हुन सकेको छैन। ४६ मध्ये ३८ वटा शवको पोस्टमार्टम भइसकेको छ। 

भदौ ३०, २०८२ सोमबार १८:२३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।