सिसिटिभी फुटेज बुझाउँदै एनसेलले दर्ता गर्‍यो तोडफोड, आगजनी र डकैतीसम्बन्धी मुद्दा

सिसिटिभी फुटेज बुझाउँदै एनसेलले दर्ता गर्‍यो तोडफोड, आगजनी र डकैतीसम्बन्धी मुद्दा

काठमाडौं : एनसेलले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको लैङ्गिकौरस्थित मुख्यालय ‘एनसेल आइकन’ मा भएको तोडफोड, आगजनी र डकैतीसम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय काठमाडौंमा दर्ता गराएको छ।

उजुरीमा विभिन्न अपराधी समूहले आन्दोलनको नाममा कार्यालयमा हमला गरी ठूलो मात्रामा भौतिक र आर्थिक क्षति पुर्याएको उल्लेख गरिएको छ। घटनामा सुरक्षाकर्मीहरूलाई धम्की दिई बन्धकसमेत बनाएर भवनका सिसा फुटाइ कार्यालयभित्र प्रवेश गरी ग्राहक सेवा केन्द्र, रिसेप्सन र अन्य तलामा रहेका उपकरण तथा कागजात तोडफोड र आगजनी गरेको विवरण उजुरीमा समावेश छ।

एनसेलका अनुसार कम्पनीका मूल्यवान विद्युतीय उपकरण, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, कफी मेसिनदेखि लिएर कर्मचारीलाई वितरण गरिएका ल्यापटप र व्यक्तिगत सामग्रीसमेत डकैती भएको छ। त्यस्तै, बैठक हलका टिभी, फिटनेसका उपकरण, बहुमूल्य कागजात र सेफसमेत लुटिएको कम्पनीले जनाएको छ।

भवनभित्रै रहेका एनसेलका र तेस्रो पक्षबाट भाडामा लिइएका सवारीसाधनसमेत नियन्त्रणमा लिएर आँगनमा जलाइएको, केही बाहिर बाटोमै जलाइ नष्ट गरिएको र कर्मचारीका निजी गाडीमा पनि तोडफोड तथा आगजनी गरिएको उजुरीमा उल्लेख छ।

कम्पनीले क्षतिको विस्तृत विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको र घटनाको सीसीटीभी फुटेज समेत बुझाएको छ। वास्तविक क्षति मूल्याङ्कनको कार्य भइरहेको र थप विवरण आवश्यकताअनुसार उपलब्ध गराइने एनसेलले जनाएको छ।

भदौ ३०, २०८२ सोमबार १८:१३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।