प्रधानमन्त्रीमा सुशीलालाई 'एक्लै' साथ दिइरहेका डा बाबुरामको सम्बन्ध के हो ?

प्रधानमन्त्रीमा सुशीलालाई 'एक्लै' साथ दिइरहेका डा बाबुरामको सम्बन्ध के हो ?

काठमाडौं : लामो रस्साकस्सीकाबीच शुक्रवार शीतल निवासभित्र रहेको राष्ट्रपति निवासको एक सानो कोठामा अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा शपथ लिँदै थिइन् सुशीला कार्की। सामान्य पोसाकमा पुगेकी उनी अगाडि राखिएको कुर्सीको रोहमा देब्रेतिरको अन्तिम कुर्सीमा बसेकी थिइन्।

त्यसपछिको कुर्सी राष्ट्रपति रामचन्द्र पौडेलको लागि कुर्सी खाली थियो। त्यसपछि थिए उपराष्ट्रपति राम सहाय यादव र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत।

शपथ समारोहमा सभामुख, राष्ट्रिय सभाका अध्यक्षसहित पूर्व प्रधानमन्त्रीसहितलाई समेत निमन्त्रणा पठाइएको थियो। तर न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल लगायत पूर्व प्रधानमन्त्रीहरू नभए पनि दर्शकदीर्घाको सबैभन्दा अगाडि बसेका थिए पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई।

उनी सपथग्रहण समारोहभर बसे। जब बधाई दिने समय आयो उनी अगाडि गएर सुशीलालाई बधाई दिएर बाहिरिए। सोमबार मन्त्रीहरूको शपथका लागि शीतल निवासको प्राङ्गणमा आयोजित कार्यक्रममा पनि अन्य पूर्व प्रधानमन्त्रीहरू देखिएनन्। तर त्यहाँ पनि बाबुराम पुगेका थिए।

आखिर बाबुराम अन्तरिम सरकारको सबै गतिविधिमा किन संलग्न छन्? जेनजी पुस्ताको आन्दोलनमा समर्थनमा उनी एक्लै भए पनि सरकारी सबै औपचारिक कार्यक्रममा सहभागी भइरहेका हुन् या अन्य केही छ?

उकेराले यसबारे सुशीला, दुर्गा र बाबुरामको सम्बन्धबारे उनीहरू निकट केही व्यक्ति र दुर्गाले लेखेको 'विमान विद्रोह'मा उल्लेख भएका प्रसङ्गले यो सम्बन्ध राजनीतिक भन्दा पारिवारिक देखियो। त्यो पनि सुशीला भन्दा दुर्गासँग।

विमान अपहरणपछि जोडिएको सम्बन्ध

२०३० जेठ ८ मा भएको नेपालको पहिलो विमान अपहरण काण्डमा संलग्नहरूमध्ये एक थिए दुर्गा। विमान अपहरण गरेर भारत लगेपछि उनीमाथि उतै पनि मुद्दा चलेको थियो। त्यो बेलामा उनी बनारसमा रहेका नेपाली विद्यार्थीहरुको होस्टलमा जाने र बस्ने गर्थे। त्यही क्रममा भारतमै पढ्दै गरेका बाबुरामसँग उनको भेट भएको थियो।

भारतमा भएको भेटसँगै सुरु भएको उनीहरूको सम्बन्ध माओवादी विद्रोहको समयमा पनि कायम रह्यो। “विमान विद्रोह” मा बाबुरामले दुर्गाबारे लेखेको टिप्पणीमा उनले २०५६ सालमा कांग्रेससँग सम्बन्ध बनाउन दुर्गाले सहयोग गरेको उल्लेख गरेका छन्।

जब दुर्गा भारतबाट नेपाल आए त्यसपछि विराटनगरमा घर बनाउँदा उनको घरको नक्सा हिसिला यमीले बनाएकी थिइन्। २०६२-०६३ को दोस्रो जनआन्दोलन सफल भएसँगै संसद् पुनर्स्थापना भयो। अन्तरिम संसद्मा माओवादी समेत सहभागी भयो। त्यो समयमा माओवादीले स्वतन्त्र नागरिकको रूपमा दुर्गालाई सांसद बनाउने प्रयास गरेको तर नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नबनाउनुस् भनेकाले उनी सांसद बन्न नपाएको प्रसङ्ग बाबुरामले नै दुर्गाको पुस्तकमा लेखेका छन्। त्यसपछि पनि दुर्गा र बाबुरामको सम्बन्ध निरन्तर रहेको देखियो।

माओवादीको सहयोगमा न्यायाधीश

सुशीला धरान र विराटनगरमा कानुन व्यवसायीको रूपमा सक्रिय थिइन्। उनी २०६५ माघमा अस्थायी न्यायाधीशहुँदै न्यायाधीशको रूपमा सर्वोच्च अदालत प्रवेश गरेकी थिइन्। २०६५ साउन ३१ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

“भन्नेहरूले सुशीला र दुर्गादाईको काँग्रेससँगको सम्बन्धका कारण कांग्रेसको कोटामा उनी न्यायाधीश नियुक्त भएको दाबी गर्छन्” सुशीलाको परिवारसँग निकट स्रोतले उकेरासँग भन्यो “तर बाबुराम भट्टराईको विशेष पहलमा माओवादीको सिफारिसमा न्यायाधीश भएको हो।”

कल्याण श्रेष्ठको अवकाशपछि वरिष्ठताका आधारमा सुशीला २०७३ वैशाख २ मा कामु प्रधानन्यायाधीश भएपछि सरकारले उनलाई बल्ल २०७३ असार २५ मा प्रधानन्यायाधीश नियुक्त गरेको थियो। प्रधानन्यायाधीशको रूपमा उनीमाथि महाअभियोग समेत लागेको थियो।

रेल्वे स्टेसनमा कुटपिटले बढाएको दुरी

नेपाली कांग्रेसका संलग्न भएर क्रान्तिका लागि विमानै अपहरण गर्नेसम्मको साहस गरेका दुर्गाको कांग्रेसका नेताहरूसँग राम्रो सम्बन्ध भएन। विशेष गरी गिरिजाप्रसाद कोइरालासँग उनको सम्बन्ध राम्रो भएन। कांग्रेस परिवार अनि रामचन्द्र पौडेलबाट सदस्यता लिए पनि सुशीलाको पनि कांग्रेसका नेताहरूसँग सम्बन्ध राम्रो भएन।

उनले कांग्रेसका नेता जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्ट ठहर गरेर कैद सजाय सुनाएपछि त झन् कांग्रेससँग दुवैको सम्बन्ध बिग्रियो। दुर्गाको कांग्रेससँग सम्बन्ध बिग्रनुको कारण भने २०३६ फागुन १० मा जोगबनीको रेल्वे स्टेसनमा भएको एक घटना प्रमुख रहेको उनी निकटले जानकारी दिए।

दुर्गासँग लामो समयदेखि पारिवारिक सम्बन्धमा रहेका स्रोतका अनुसार त्यो बेलामा नै प्रदीप गिरी र दुर्गा सुवेदी नजिक भइसकेका थिए। विमान अपहरणबाट लगिएको पैसामा गिरिजाप्रसाद कोइराला लगायतका नेताहरू मस्तीमा थिए। तर दुर्गा अनि प्रदीपलाई खाना खानसमेत हम्मे थियो। यही विषयमा विवाद भइरहेको थियो। एकाएक प्रदीप गिरी र दुर्गा आफ्नै साथीहरूबाट कुटिए।

योजना बनाउने व्यक्ति गिरिजाप्रसाद र कार्यान्वयन गर्ने खुमबहादुर खड्का थिए। गिरीले किताबमा भने आफूले मात्र कुटाइ खाएको र कुट्ने व्यक्तिमा उमेश गिरी र वसन्त भट्टराईको नाम उल्लेख गरेका छन्। कुटाइ खानुको कारण पत्रिकामा छापिएको कार्टुनलाई बहाना बनाएको उनले लेखेका छन्।

तर स्रोत त्यो घटनामा गिरीसमेत कुटिएका थिए तर कुटाइ खाने कारण थियो प्रदीप र शैलजाको सम्बन्ध। यी दुवै भारतमा बस्दा प्रेम सम्बन्धमा थिए। कोइराला परिवारले यो रुचाएको थिएन। अनि अन्तमा कुट्नेसम्मको योजना बन्यो।

जब प्रदीप र दुर्गा कुटिए दुर्गा बिस्तारै सक्रिय राजनीतिबाट टाढिन थाले। गिरी भने आफ्नो जीवनको अन्तिमसम्म पनि कांग्रेसमै सक्रिय भए। दुर्गा कांग्रेसमा सक्रिय नभए पनि प्रदीप गिरीसँग सधैँ निकट रहे। बनारसमा बाबुरामसँग जोडिएको पारिवारिक सम्बन्ध अहिलेसम्म पनि उस्तै घनिष्ठ देखियो।

भदौ ३०, २०८२ सोमबार १७:१३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।