हुम्लाका दुई गाउँपालिकामा पुग्यो नेपाल टेलिकमको टु-जी र फोर-जी सेवा

काठमाडौं : नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत हुम्ला जिल्लाका दुई गाउँपालिकामा टु-जी र फोर-जी सेवा सञ्चालनमा ल्याएको छ।
टेलिकमले भदौ २५ गतेदेखि सर्केगाड गाउँपालिका–१ मा टु-जी र फोर-जी सेवा सुरुवात गरेको हो। यससँगै सर्केगाड गाउँपालिका–१, २, ४, ५ र ६ भित्र पर्ने जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि लगायतका बस्तीमा अब सेवाग्राहीहरूले गुणस्तरीय फोर-जी सेवा प्रयोग गर्न पाउने भएका छन्।
यस्तै, भदौ २७ गतेदेखि चंखेली गाउँपालिका–६ मा पनि टु-जी र फोर-जी सेवा सुरु गरिएको छ। यसले गर्दा चंखेली गाउँपालिका–४, ५ र ६ भित्र पर्ने बरैहीगाउँ, देउली, निमिगाउँ लगायतका बस्तीमा आधुनिक दूरसञ्चार सेवा पुग्ने भएको छ।
नेपाल टेलिकमका अनुसार दुर्गम क्षेत्रमा समेत आधुनिक सञ्चार सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राख्दै आएको र यस किसिमका प्रविधिमैत्री सेवा विस्तारले स्थानीय बासिन्दालाई सूचना तथा संचार पहुँचमा सहजता दिलाउनेछ ।
भदौ ३०, २०८२ सोमबार १६:५०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।