हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

काठमाडौं : गृह एवं कानुनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताएका छन्।

सोमबार सपथ ग्रहणपछि उनले तत्कालको अवस्थालाई सामान्यीकरण गर्न प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरू राखेको भन्दै सबैको मूल कार्यभार निष्पक्ष निर्वाचन नै रहेको बताए।

 उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा पनि स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरू रहेर निष्पक्ष निर्वाचनको लागि काम गर्नुपर्ने मूल कार्यभार छ। यहीसँग सम्बन्धित रहेर सरकार गठन भएको हो। तत्कालको अवस्थालाई हेर्दा स्थिति सामान्यीकरण गर्नुपर्ने छ। आन्दोलनमा सरिक भएर ज्यान गुमाउने पीडितहरु जो हुनुहुन्छ उहाँहरूलाई सहिद पनि घोषणा गरिएको छ।’

यस्तै, उनले भ्रष्टाचाररहित समाज निर्माणको लागि देशमा शोकको परिस्थिति आएको भन्दै अब सुशासन कायम गर्ने र समृद्धि ल्याउने राष्ट्रिय विषयलाई लिएर अगाडि बढ्नु पर्ने बताए।

 उनले भने, ‘कतिको दाहासंस्कार हुन बाँकी छ, कति घाइते हुनुहुन्छ। खासगरि जेनजीहरुको यसमा अगुवाई रहेको थियो । देशमा अहिले शोकको परिस्थिती छ। तर भ्रष्टाचाररहित समाज हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो। सुशासन कायम गर्ने र समृद्धि ल्याउने भनेर राष्ट्रिय रुपमा जुन विषय उठेको छ, यसलाई राष्ट्रपतिले पनि स्वीकार गरेर अगाडि बढ्न एउटा अन्तरिम नागरिकको सरकार बनेको छ।’

सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरू हुनुपर्ने आन्दोलनकारीहरू कै माग रहेको हुनाले छानबिन हुने पनि उनको भनाई छ।

 उनले भने, ‘देशको प्रमुख अंगको रुपमा रहेका कार्यालयहरू नै क्षति भएको छ। काम गर्न पनि समस्याहरू आएको छ। मर्मत वा पुननिर्माण गरेर अगाडि बढ्न पनि चुनौती छ। सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरू हुन्छ। साथै आन्दोलनकारीहरूको पनि माग छ।’ 

भदौ ३०, २०८२ सोमबार १६:०२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।