अर्थमन्त्रीले पदभार सम्हाल्दै गर्दा पुगे शालिकराम, भने- पहिला सचिव फेर्नुस्, कहिले फेर्ने हो?

काठमाडौं : नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै मुलुकको अर्थतन्त्रमा सुधारका लागि कठोर र सांकेतिक दुवै कदम चाल्ने उद्घोष गरेका छन्।
पदभार ग्रहण गरेलगत्तै उनले तयारीबिनाका टुक्रे आयोजना खारेज गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् भने राज्यबाट कुनै अतिरिक्त सुविधा नलिने र स्वकीय सचिवालयसमेत नराख्ने घोषणा गरेका छन्।
सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार सम्हाल्न पुगेका खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए। पदभार ग्रहणपछि उनले आफूलाई ‘माननीय’ भनेर सम्बोधन नगर्न आग्रह गर्दै नयाँ कार्यशैलीको संकेत दिए।
पहिलो निर्णय : टुक्रे आयोजना खारेज
अर्थमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै खनालले पूर्वतयारी नभएका र अनुत्पादक टुक्रे आयोजनाहरू खारेज गर्नका लागि अध्ययन गर्न एक कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरे। उनले फजुल खर्च कटौती गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताए।
‘अबको प्राथमिकता युवाका माग पूरा गर्नु र निर्वाचन गराउनु हो, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो,’ उनले भने, ‘पूर्व तयारी नभएका आयोजनाहरू अगाडि बढ्दैनन्।’
उनले आन्दोलनले क्षतिग्रस्त मन्त्रालय परिसरको भग्नावशेष तुरुन्तै हटाएर "हामी खरानीबाट जाग्यौँ" भन्ने सन्देश दिने प्रतिबद्धतासमेत व्यक्त गरे।
मन्त्रालयमै आक्रोशित नागरिकसँग संवाद
पदभार ग्रहणपछि कर्मचारीहरूलाई निर्देशन दिइरहेका बेला मन्त्रालयमा एक अप्रत्याशित स्थिति सिर्जना भयो। पर्वतका शालिकराम पौडेल नामका एक व्यक्तिले मन्त्री खनालसमक्ष पुगेर बजेट केवल ७ जिल्लामा मात्र केन्द्रित भएको भन्दै चर्को आक्रोश पोखे।
‘हाम्रा गाउँलाई बजेट छैन’, पौडेलले भने। मन्त्री खनालले उनलाई ‘एकछिन ल’ भन्दै रोक्न खोज्दा उनी थप जंगिए- ‘हामीले पनि आन्दोलन गरेका हौँ। तपाईं त्यसै मन्त्री भएको हो र? कुरा सुन्नुस् यहाँ’ पौडेलले भनेपछि प्रहरीले उनलाई हटाउन खोज्यो।
तर, खनालले हस्तक्षेप गर्दै पौडेलसँग हात मिलाए र उनको कुरा सुने। पौडेलले मन्त्रालयमा ‘बदमासहरू’ रहेकाले आन्दोलन भएको भन्दै काम गर्न चुनौती दिएका थिए।
उनले सुरक्षाकर्मीकै बीचमा अर्थसचिव धनश्याम उपाध्यायतर्फ फर्कँदै भन्छन्- पहिला उहाँलाई फेर्नुपर्छ, कहिले फेर्ने हो, फेर्नुस्।
न स्वकीय सचिवालय, न सुविधा
मन्त्री खनालले राज्यको स्रोतमा भार नपार्ने भन्दै आफ्नो लागि स्वकीय सचिवालय नराख्ने घोषणा गरे। उनले आफूलाई केवल एक सवारी चालकको आवश्यकता पर्ने बताए।
‘गाडीमा हिँड्दा फोनमा कुरा गर्नुपर्ने भएकाले चालक चाहिन्छ’, उनले स्पष्ट पारे।
उनले आफू राष्ट्रपति भवनमा शपथका लागि आफैँ गाडी चलाएर गएको स्मरण गराउँदै चालकबाहेक अन्य सुविधा नलिने पुनः घोषणा गरे। साथै, उनले व्यक्तिगत काम लिएर कोही पनि आफ्नो घरमा नआउन सार्वजनिक रूपमा आग्रह गरे।
उनले निजी क्षेत्रको मनोबल उकास्न सरकारले काम गर्ने र राजस्व संकलनमा कमी आउन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।
भदौ ३०, २०८२ सोमबार १४:२९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।