पदभार सम्हाल्दै गृहमन्त्री अर्यालको पहिलो निर्णय : जेनजी आन्दोलनका मृतकको सम्मानमा झण्डा झुकाइने

काठमाडौं : नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै जेनजी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने र झण्डा झुकाउने निर्णय गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिएपछि सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार सम्हाल्दै उनले यो महत्त्वपूर्ण निर्णय गरेका हुन्।
गृहमन्त्रीको कार्यभार सम्हालेपछि उनले गरेको पहिलो निर्णयमा मृतकका परिवारलाई काजकिरिया खर्चबापत तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने विषय पनि समावेश छ।
यो निर्णयलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिकता दिने गृह मन्त्रालयले जनाएको छ। शोक दिवसको मिति भने मन्त्रिपरिषद्ले नै तय गर्नेछ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले आन्दोलनले क्षति पुर्याए पनि देशका लागि ऐतिहासिक अवसरको ढोका खोलेको बताए। उनले अब विगतका विवादमा अल्झिनुको सट्टा त्यसलाई अन्त्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
‘क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ। अब विवाद गरेर पछि फर्किने होइन, विवाद हटाएर अघि बढ्ने हो’, उनले भने।
मन्त्री अर्यालले हाल राज्यका अंगहरूको संरचना नभएकोले त्यसलाई पूर्णता दिनु सरकारको मुख्य प्राथमिकता हुने स्पष्ट पारे।
प्रधानमन्त्री सुशीला कार्कीद्वारा नियुक्त मन्त्री अर्यालले सोमबार राष्ट्रपति निवास शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए। उनीसँगै अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले पनि शपथ लिएका थिए।
भदौ ३०, २०८२ सोमबार १४:०८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।