आन्दोलनपछि सक्रिय हुन थाले फिल्मकर्मी : रोकिएका फिल्मको सुटिङ सुरू, प्रचारप्रसारमा उत्रियो निर्माण टीम

काठमाडौं : भदाै २३ गते जेन-जी समूहले राजधानीलगायत देशभर भ्रष्टाचारविरोधी आन्दोलन गर्यो। आन्दोलनका क्रममा सरकारी पक्षबाट भएको बर्बर दमनमा १९ जनाले ज्यान गुमाएपछि त्यसको विरोधमा २४ गते देशैभर आन्दोलन चर्कियो।
सरकारी भवनमा आगजनीका साथै निजी सम्पत्तिमा समेत आक्रोशित भिडले तोडफोड गर्यो। यसको असर नेपाली फिल्म क्षेत्रमा समेत पर्यो। २३ गते प्रदर्शनले उग्र रुप लिएसँगै त्यही दिन दिउँसोबाट नै नेपालमा सबै हलहरू बन्द भए। हलमा लागिरहेका झन्डै एक दर्जन फिल्महरूको प्रदर्शन रोकियो।
भदौ २० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रिमै’लाई त नराम्रोसँग असर पार्यो नै त्यसअघि नै प्रदर्शनमा आएका फिल्महरू ‘माग्ने राजा’, ‘गुन्यु चोलो’, ‘मोहर’ र ‘जनै हराएको मान्छे’लाई पनि असर पुर्यायो।
यति मात्र होइन, भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अभिमन्यु’को प्रदर्शन नै सार्नुपरेको छ। निर्माण टिमले यो फिल्मलाई आगामी असोज १३ गते दशैंको फूलपातीमा पुर्याएको हो।
फिल्मका निर्माता विनोद पौडेलले तत्कालको माहोलमा फिल्म प्रदर्शन गर्न नसकिएको बताउँदै फूलपातीमा रिलिज गर्ने जानकारी दिए। केही दिनअघि उनी फिल्मको नयाँ मिति तत्काल घोषणा गर्ने मुडमा थिएनन्। तर, अचानक उनले फूलपातीबाटै फिल्म प्रदर्शन गर्ने भन्दै भदौ ३० गते सोमबार पोस्टर रिलिज गरेका छन्।
‘भदौ २७ गतेलाई प्रदर्शन मिति घोषणा गरेका थियौँ। त्यो दिन माहोल नै त्यस्तै बन्यो। प्रदर्शन गर्ने भन्ने कुरै भएन,’ उनले भने, ‘अहिले साथीहरूसँग छलफल गरेर दशैंको फूलपातीबाट प्रदर्शन गर्ने निधो गरेका छौँ।’
उनले दुई दिनअघि उकेरासँगको कुराकानीमा दशैंपछि नै फिल्मको प्रदर्शन मिति घोषणा गरिएला भन्ने कुरा गरेका थिए।
तर, अचानक उनले फिल्मलाई दशैंमा प्रदर्शनमा आउन लागेका फिल्म ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’सँग जुधाउन पुर्याएका छन्। योसँगै अब दशैंमा चारवटा फिल्म प्रदर्शन हुने भएका छन्।
‘जारी २’ को प्रदर्शन अनिश्चित
आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘जारी २’ तोकिएको समयमा प्रदर्शन नहुने भएको छ। फिल्मका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले असोज ३ गते फिल्म प्रदर्शन गर्न नसकिने बताए।
उनले भने, ‘अहिले तत्कालै फिल्म प्रदर्शन गर्ने स्थितिमा हामी छैनौँ। कहिलेबाट प्रदर्शन गर्ने भन्ने कुरामा समेत छलफलमा बस्न पाएका छैनौँ। भोलितिर हामी टिममा छलफल गरेर अगाडि बढ्छौँ होला।’
फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई, सिर्जना निङ्लेखु लगायतको अभिनय छ। ठूलो बजेटमा बनेको यो फिल्मलाई लिएर जोखिम मोल्न नचाहेको उनले बताए।
रोकिएको छायाङ्कन पुनः सुरू
आन्दोलनका कारण छायाङ्कनमा निस्किएका फिल्महरूको समेत छायाङ्कन रोकियो। अभिनेत्री तथा निर्मात्री रेखा थापाको निर्माणमा छायाङ्कन भइरहेको फिल्म ‘३६ को आँकडा’ ३-४ दिन नै स्थगित हुन पुग्यो।
भदौ २३ गतेसम्म छायाङ्कन भएको यो फिल्म भदौ २४ गतेबाट रोकिएको थियो। काठमाडौंको आसपासमा भइरहेको छायाङ्कन केही दिन रोकिए पनि अब सुटिङ थालिएको अभिनेत्री थापाले बताइन्।
‘त्यतिबेला तत्कालै सुटिङमा जाने अवस्था थिएन। केही दिन समय हेरेर बाँकी रहेको सिन खिच्न थालेका हौँ,’ उनले भनिन्, ‘छायाङ्कन दशैंअघि नै सक्ने योजना थियो। अब सकिन्छ कि सकिँदैन हेरौँ।’
फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरिरहेका छन्। यसमा रेखाका अलावा पूजा शर्मा, पुष्प खड्का, महेश त्रिपाठीको मुख्य भूमिका रहनेछ।
यता, मरिचमान श्रेष्ठको डेब्यु निर्देशन तथा निर्माणको फिल्म ‘गोबर गणेश’ पनि छायाङ्कनमा निस्किएको थियो। अवस्था असहज भएपछि यो फिल्मको पनि छायाङ्कन रोकिएको छ। फिल्ममा उनको र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ।
उता, चन्द्र पन्तको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘आ बाट आमा’को छायाङ्कन भने सुचारू भइसकेको छ। निर्माण पक्षले भदौ २४ र २५ गते छायाङ्कन स्थगित गरेको थियो। यो फिल्मको छायाङ्कन यतिबेला चितवनका विभिन्न स्थानमा भइरहेको छ।
उकेरासँगको कुराकानीमा निर्देशक पन्तले भने, ‘हामीले आजबाट सुटिङ सुचारु गरेका छौँ। जनजीवन अहिले सामान्य बन्दै गएपछि आजबाट बाँकी रहेको दृश्यको छायाङ्कन थालेका छौँ।’
उनले छायाङ्कन भइरहेको फिल्म अचानक आन्दोलनले दुई दिन रोकिएको बताए। यस फिल्ममा विपना थापा, पल शाह लगायतले अभिनय गरिरहेका छन्। निर्देशक पन्तले यसअघि फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका थिए।
गत भदौ २६ गतेबाट छायाङ्कनमा निस्किने तयारीमा रहेको फिल्म ‘परालको आगो’को केही टिम म्याग्दी पुगिसकेको थियो भने केही टिम यहीँ रोकिएका थिए। अन्ततः हिजोबाट रोकिएको टिमसहित सबै म्याग्दी पुगेर सुटिङ थालेका छन्।
फिल्मका निर्माता सुशील पोखरेलले फिल्मको छायाङ्कनका लागि तोकिएको समयमा आधा टिम म्याग्दी पुगिसकेको र आधा यहीँ रहेको सुनाए। तर, अहिले सबै टिम म्याग्दी पुगिसकेको उनले बताए।
‘हाम्रा कलाकार लगायत केही टिम छायाङ्कनस्थलमा पुगिसकेका थिए,’ उनले भने, ‘जेन-जीको आन्दोलनले गर्दा आधा टिम जान सकिएन। तर, अहिले सुचारु भइसकेको छ।’
उनका अनुसार आधा टिम यता र आधा उता हुँदा दुई-तीन लाख रुपैयाँ अतिरिक्त खर्च भएको छ। यस फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारीको अभिनय रहनेछ। फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गर्दैछन्।
फूलपातीमा चार फिल्म
यता, दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने भनिएका फिल्म ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ भने तोकिएकै समयमा प्रदर्शन गर्न लागिपरेका छन्।
यी फिल्मका निर्माताहरूले पक्षले भदौ २९ गते आइतबारबाटै फिल्मको प्रचारप्रसार सुरू गरेका छन्। निर्माता रोहित अधिकारीले फिल्म ‘माइतीघर’को प्रचार थाल्दा ‘बलिदान’का निर्माता तथा निर्देशक सन्तोष सेन पनि प्रचारमा उत्रिएका छन्।
सोही दिन हरिवंश आचार्यको फिल्म ‘हरिबहादुरको जुत्ता’ पनि प्रदर्शनमा आउँदैछ। खासै प्रचारप्रसारमा निर्माण टिम नजुटे तापनि यो फिल्मबारे सामाजिक सञ्जालमा निर्माता सरोज ओलीले पोस्ट गर्न थालेका छन्।
फिल्ममा हरिवंश आचार्यका अलावा स्वस्तिमा खड्का, प्रियंका कार्की, प्रकाश सपूत लगायतको अभिनय छ।
गत भदौ २७ गते प्रदर्शन स्थगित भएको फिल्म ‘अभिमन्यु’ पनि यही मितिमा प्रदर्शनमा आउने भएको छ। फिल्ममा कामेश्वर चौरासिया, किरण श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ।
भदौ ३०, २०८२ सोमबार १४:४४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।