खनाल, अर्याल र घिसिङले लिए मन्त्रीको शपथ, बाबुरामसँगै राष्ट्रिय सभा अध्यक्ष दाहाल पनि सहभागी

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहमा शपथ लिएका हुन्।
नवनियुक्त मन्त्रीहरूलाई प्रधानमन्त्री कार्कीको उपस्थितिमा राष्ट्रपतिले शपथ ग्रहण गराएका थिए।
मन्त्रिपरिषद् विस्तारसँगै अर्याललाई गृहका अतिरिक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी, घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।
शपथ ग्रहण समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थिति भने अर्थपूर्ण रह्यो। यसअघि प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा अनुपस्थित रहेका उनी मन्त्रीहरूको शपथमा भने सहभागी भएका हुन्।
त्यसैगरी, पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि समारोहमा उपस्थित थिए।
प्रधानमन्त्री कार्कीको शपथमा पनि सहभागी भएका भट्टराईबाहेक अन्य राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति भने आजको समारोहमा देखिएन।
भदौ ३०, २०८२ सोमबार १२:३८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।