जेन-जी आन्दोलनले बन्द हलहरू आजबाट सञ्चालनमा

काठमाडौं : भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बन्द भएका फिल्म हलहरू आज (सोमबार)देखि पुनः सञ्चालनमा आएका छन्।
चलचित्र संघले दर्शक र हलको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै अधिकांश हल खोल्ने निर्णय गरे पनि आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको विराटनगरको क्यूएफएक्स भने बन्द रहनेछ।
चलचित्र संघको आइतबार बसेको बैठकले विराटनगरबाहेकका सबै हल खोल्ने निर्णय गरेको हो। संघका अध्यक्ष नरेन्द्र महर्जनले दर्शक र हलको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थानीय प्रशासनसँगको समन्वयमा हलहरू सञ्चालनमा ल्याइएको बताए।
‘दर्शक र हलको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘हामीले स्थानीय प्रशासनसँग समन्वय गरेरै हल खोलेका हौँ।’
आन्दोलनका क्रममा विराटनगरको भाटभटेनीमा रहेको क्यूएफएक्स हलमा आगजनी हुँदा पूर्ण रूपमा ध्वस्त भएको छ।
यसबाहेक बालाजुको अष्टनारायण हल, गोंगबुको आईएनआई सिनेमाज् र ल्होत्से मल, भक्तपुर क्यूएफएक्स र बुटवल क्यूएफएक्समा सामान्य क्षति पुगेकाले मर्मतपछि सञ्चालनमा ल्याइएको हो।
हलहरू पुनः सञ्चालनमा आएसँगै ‘रिमै’, ‘बागी ४’, ‘कोशेढुंगा’, ‘मोहर’, ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘गुन्यो चोली’, ‘परम सुन्दरी’ र ‘द कन्जुरिङ: लास्ट रिट्स’ लगायतका फिल्महरू प्रदर्शनमा आएका छन्। यद्यपि दर्शकहरू भने अधिकांश आएका छैनन्।
भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा भदौ २३ गते जेन-जी समूहले गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जनाको मृत्यु भएको थियो। त्यसैको प्रतिक्रिया स्वरूप भदौ २४ गते देशव्यापी रूपमा आगजनी र तोडफोडका घटना भएका थिए, जसको असर फिल्म क्षेत्रले पनि भोग्नुपरेको हो।
भदौ ३०, २०८२ सोमबार ११:४४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।