खण्डहर बनेको प्रधानमन्त्री कार्यालय र तोडफोड भएको सिंहदरबार परिसर (२४ तस्बिर )

काठमाडौं : जेन-जी प्रदर्शनको आगोले पोलेर खण्डहर बनेको सिंहदरबार... धुवाँ र खरानीको कालो दागले लतपतिएका भित्ताहरू... अनि त्यही भग्नावशेषमाथि गर्वका साथ फहराइरहेको छ चन्द्र-सूर्य अंकित राष्ट्रिय झण्डा।
यो दृश्यले एकातिर मन पोल्छ, अर्कोतिर आशाको दियो बाल्छ। देशको प्रशासनिक मुटु जलेर उराठ देखिन्छ, तर त्यही शिरमा फहराइरहेको झण्डासँगै आशा र विश्वास बोकेर सिंहदरबार फेरि उठ्ने प्रतीक्षामा छ।
प्रशासनिक कार्य सुरू भएसँगै आइतबार त्यहाँ पुगेका कर्मचारीदेखि सर्वसाधारणसम्मका अनुहार मलिन थिए। धेरैले मौनता साँध्दै मोबाइल र क्यामेराले यो पीडादायी क्षणलाई कैद गरिरहेका थिए आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै।
सिंहदरबार केवल एउटा भवन थिएन, यो नेपालको जीवन्त इतिहास प्रतीक थियो। राणा प्रधानमन्त्री चन्द्रशमशेरले सन् १९०३ मा बनाएको, कुनै बेला एसियाकै सबैभन्दा ठूलो मानिने यो दरबारको प्रत्येक भित्तामा कुँदिएका आकर्षक शिल्पी र कला आज धुवाँको पोतोले छोपिएका छन्।
वि.सं. २०३० को आगलागी र २०७२ को भूकम्पपछि पुनर्निर्माण भएर झनै आकर्षक देखिएको थियो सिंहदरबार। तर, भदौ २४ गतेको आगजनीले धुवाँ र खरानीका दागहरू देखिन्छन्। यसैबीच कार्यालय फर्किएका कर्मचारीहरूले नियमित काम थालेका छन्। उनीहरूले मन्त्रालयका भग्नावशेष पन्छाइरहेका छन्।
सिंहदरबार परिसरभित्र मुख्यगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा बढी क्षति पुगेको छ भने अन्य अधिकांश मन्त्रालय र सरकारी निकाय अपेक्षाकृत सुरक्षित भेटिएका छन्।
तस्बिरमा हेर्नुहोस् खण्डहर बनेको सिंहदरबार:
भदौ ३०, २०८२ सोमबार ११:११:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।