पाकिस्तानमाथि जितपछि भारतीय प्रशिक्षक गौतमले भने- यो जित पहलगाम आक्रमणका पीडित र सेनालाई समर्पित

पाकिस्तानमाथि जितपछि भारतीय प्रशिक्षक गौतमले भने- यो जित पहलगाम आक्रमणका पीडित र सेनालाई समर्पित

एजेन्सी : एसिया कप २०२५ अन्तर्गतको लिग खेलमा पाकिस्तानमाथि शानदार जित निकालेपछि भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीरले उक्त जितलाई पहलगाम हमलाका पीडित र भारतीय सशस्त्र बलप्रति समर्पित गरेका छन्।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले यो जित क्रिकेटको मात्र नभई राष्ट्रिय भावनासँग जोडिएको बताए। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो।

खेलपछि बोल्दै गम्भीरले भने, ‘यो एक राम्रो जित थियो, तर अझै धेरै क्रिकेट खेल्न बाँकी छ। यो खेल हाम्रा लागि यसकारण पनि महत्त्वपूर्ण थियो कि एक टोलीको रूपमा हामी पहलगाम हमलाका पीडित परिवारहरूप्रति ऐक्यबद्धता देखाउन चाहन्थ्यौँ।’

उनले थपे, ‘त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, हामी हाम्रो सशस्त्र बललाई उनीहरूको सफल अपरेसन सिन्दूरका लागि धन्यवाद दिन चाहन्छौँ। हामी हाम्रो देशलाई सधैँ गौरवान्वित र खुसी राख्ने प्रयास गरिरहनेछौँ।’

आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले भारतसामु २० ओभरमा १२८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा भारतले १५.५ ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

यो खेलअघि भारतमा पाकिस्तानसँगको खेल बहिष्कार गर्नुपर्ने माग चर्को रूपमा उठेको थियो। पहलगाममा हतियारधारीको आक्रमणपछि भारतका कयौं राजनीतिक दल र पीडित परिवारहरूले समेत पाकिस्तानसँगको खेलमाथि प्रश्न उठाएका थिए। उनीहरूले भारतले पाकिस्तानलाई सबै क्षेत्रबाट पूर्ण रूपमा बहिष्कार गर्नुपर्ने माग गरेका थिए।

भदौ ३०, २०८२ सोमबार १०:२६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।