अर्थमन्त्री बन्न लागेका खनालले भने- ‘तलब, गाडी र क्वार्टर केही लिन्नँ’

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री बन्न लागेका पूर्वअर्थसचिव रामेश्वर खनालले राज्यबाट उपलब्ध हुने कुनै पनि सेवा-सुविधा नलिने घोषणा गरेका छन्।
उनले तलब, मन्त्री क्वार्टर, गाडी र व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) समेत नलिई काम गर्ने इच्छा व्यक्त गरेका हुन्। खनालको नियुक्ति हुन बाँकी भए पनि मन्त्री बन्ने टुंगो लागिसकेको छ।
देशको हालको परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीको टोलीले खनाललाई कम्तीमा पीएसओ राख्न आग्रह गरेको थियो। तर, खनालले उक्त आग्रहसमेत अस्वीकार गरेका छन्।
खनालले राज्यको सुविधा नलिई काम गरेको यो पहिलो पटक भने होइन। यसअघि उनी तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि कुनै सुविधा नलिई काम गरेका थिए।
पूर्वअर्थसचिव खनाल अर्थतन्त्रका गहिरा जानकार मानिन्छन्। तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग व्यवसायीहरूको करछलीको विषयमा मतभेद भएपछि उनले पदबाटै राजीनामा दिएका थिए, जसले उनको व्यावसायिक निष्ठालाई चर्चामा ल्याएको थियो।
केही समयअघि मात्र उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो विस्तृत प्रतिवेदन बुझाएका थिए।
भदौ ३०, २०८२ सोमबार १०:०५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।