चितवनमा ७९ सरकारी कार्यालय ध्वस्त, प्रजिअ भन्छन्- ‘सक्ने सेवा दिने, नसक्नेको सूचना दिने’

चितवन : गत हप्ता भएको आन्दोलनका क्रममा चितवन जिल्लाभरका सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार ७९ सरकारी कार्यालय तथा १७ निजी व्यावसायिक प्रतिष्ठान र घरहरूमा तोडफोड र आगजनी भएको हो। प्रशासनले क्षतिग्रस्त संरचनाबाटै सम्भव भएसम्मको सेवा प्रवाह सुरु गरेको छ भने क्षतिको यकिन विवरण संकलन गर्न समिति गठन गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्षतिको यकिन विवरण संकलन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा सात सदस्यीय टोली गठन गरिएको छ।
जिल्ला प्रशासन कार्यालयसहित महानगरपालिका, नगरपालिका, गाउँपालिका र वडा कार्यालयहरू तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका छन्।
आन्दोलनकारीले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका पार्टी कार्यालयका साथै नेता, जनप्रतिनिधि र पत्रकारका घर तथा सञ्चारगृहमा समेत आक्रमण गरेका थिए।
अर्यालले निजी घरमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए।
अहिले जलेर ध्वस्त भएका कार्यालयहरूको सरसफाइ सुरू गरिएको छ। प्रमुख जिल्ला अधिकारी अर्यालले कर्मचारीहरूले कार्यालय परिसर वा खुला स्थानबाटै सेवा दिन थालेको जानकारी दिए।
उनले भने, ‘अहिले हाम्रो प्राथमिकता नागरिकलाई मर्का पर्न नदिने हो। त्यसैले हामीले सक्ने सेवा दिने, नसक्ने सेवाका बारेमा स्पष्ट सूचना दिने नीति लिएका छौँ।’
कारागारबाट भागेका कैदीबन्दी फर्किँदै
यसैबीच, आन्दोलनका क्रममा जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीहरू फर्किने क्रम जारी रहेको छ। कारागार कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार हालसम्म ३०० कैदीबन्दी कारागारमा फर्किसकेका छन्।
भागेका कुल ७५० मध्ये ५० जनाबाहेक अन्य सबै सम्पर्कमा आइसकेको उनले बताए। फर्किएकामध्ये २७ जना महिला रहेका छन्। कारागारमा कुल ४६ जना महिला कैदीबन्दी थिए। अन्यत्रका कारागारका १४ जना कैदीबन्दीले पनि यहाँ सम्पर्क गरेका छन्।
भदौ ३०, २०८२ सोमबार ०९:२०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।