भारत-पाकिस्तान राजनीतिक तनावको असर क्रिकेटमा पनि, खेलाडीहरूले हात मिलाएनन्

भारत-पाकिस्तान राजनीतिक तनावको असर क्रिकेटमा पनि, खेलाडीहरूले हात मिलाएनन्

एजेन्सी : एसीसी टी-२० एसिया कप अन्तर्गत आइतबार भएको खेलमा भारतले प्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गरे पनि मैदानमा खेल भावनाभन्दा दुई देशबीचको राजनीतिक तनाव हाबी भएको छ।

खेल सकिएपछि दुवै टोलीका खेलाडीले क्रिकेटको स्थापित परम्पराविपरीत एकअर्कासँग हात नमिलाई मैदान छाडेका छन्।

दुबई क्रिकेट रंगशालामा भएको समूह ‘ए’को खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्यो।

पाकिस्तानले दिएको १२८ रनको सामान्य लक्ष्य भारतले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। सूर्य कुमार यादवले स्पिनर सुफ्यान मकिमलाई छक्का प्रहार गर्दै खेल जिताएका थिए।

तर, विजयी छक्का प्रहार गरेलगत्तै ब्याट्सम्यानद्वय सूर्य कुमार यादव र शिवम दुबे विपक्षी खेलाडी वा अम्पायरसँग हात मिलाउनुको सट्टा सिधै ड्रेसिङ रुमतर्फ लागेका थिए।

क्रिकेटको परम्पराअनुसार खेल सकिएपछि दुवै टोलीका खेलाडी र अफिसियलहरू मैदानमा आएर एकअर्कासँग हात मिलाउने गर्छन्।

पाकिस्तानी खेलाडीहरू मैदानमा जम्मा भए पनि भारतीय खेलाडी र अफिसियलहरू कोही पनि मैदानमा नआएपछि पाकिस्तानी टोली पनि आफ्नो ड्रेसिङ रुमतिर फर्किएको थियो।

दुई देशबीचको तनाव खेलको सुरुवातमै देखिएको थियो। टसका क्रममा भारतीय कप्तान सूर्य कुमार यादव र पाकिस्तानी कप्तान सलमान अली अघाले एकअर्कालाई नहेरी र हात नमिलाई आ-आफ्नो स्थानमा फर्किएका थिए।

केही महिनाअघि भारतको जम्मु-कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ। उक्त आक्रमणपछि दुई देशका सेनाबीच सीमामा तनाव बढेको थियो।

त्यसअघि राजनीतिक सम्बन्ध खराब रहे पनि क्रिकेट मैदानमा खेलाडीहरूबीच सौहार्दपूर्ण सम्बन्ध देखिने गर्थ्यो। तर, पछिल्लो आक्रमणले खेलाडीको सम्बन्धमा पनि चिसोपना ल्याएको स्पष्ट देखिन्छ।

पहलगाम आक्रमणपछि भारतमा पाकिस्तानसँग कुनै पनि खेल खेल्न नहुने भन्दै चर्को आवाज उठेको थियो। यद्यपि, भारतीय क्रिकेट बोर्डले द्विपक्षीय सिरिज नखेल्ने तर आईसीसी र एसीसीका प्रतियोगिताहरूमा भने सहभागी हुने निर्णय गरेको थियो।

विगत एक दशकदेखि भारत र पाकिस्तानले यस्तै ठूला प्रतियोगिताहरूमा मात्र एकअर्काको सामना गर्दै आएका छन्।

भदौ ३०, २०८२ सोमबार ०८:४४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।