मन्त्री नियुक्तिमा विवाद : प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूह बालुवाटारमा

काठमाडौं : मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ।
‘जेनजी आन्दोलन’बाट आएका युवाहरूले मध्यराति बालुवाटारमा भेला भएर नाराबाजी गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका थिए। प्रदर्शनमा ‘जेनजी आन्दोलन’का क्रममा ज्यान गुमाएकाका परिवारका सदस्यहरू पनि सहभागी थिए।
प्रधानमन्त्री निवासको तीन नम्बर गेटअगाडि प्रदर्शनकारीलाई सम्बोधन गर्दै गुरुङले भने, ‘सबैभन्दा शक्तिशाली नेपाली जनता हो। हामीलाई कसैले रोक्न सक्दैन। जुन ठाउँमा हामीले राखेका छौँ, त्यही ठाउँबाट थुतेर निकालिदिन्छौँ।’
सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि गुरुङले प्रधानमन्त्री कार्कीको खुट्टा ढोगेका थिए।
तर, आइतबार प्रधानमन्त्री कार्कीले तीन मन्त्री नियुक्त गरेपछि गुरुङको समूह असन्तुष्ट बनेको हो।
प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याललाई गृह, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार सार्वजनिक भएको थियो।
आफूहरूसँग सल्लाह नै नगरी मन्त्री नियुक्त गरिएको भन्दै गुरुङको समूहले आन्दोलन ‘हाइज्याक’ भएको आरोप लगाएको छ। विशेषगरी गृह मन्त्रीमा अर्यालको नियुक्तिप्रति आक्रोश पोख्दै गुरुङले भने, ‘त्यहाँभित्र बसेर ओमप्रकाश अर्याल आफैँ गृहमन्त्री बन्दोरहेछ।’
मध्यरातमा युवाहरू नाराबाजीमा उत्रिएपछि प्रधानमन्त्री निवास वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो।
भदौ ३०, २०८२ सोमबार ०७:४४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।