सिंहदरबारको खण्डहरमा बसेर देश बनाउने सुशीलाको पहिलो दिनको यात्रा

सिंहदरबारको खण्डहरमा बसेर देश बनाउने सुशीलाको पहिलो दिनको यात्रा

काठमाडौं : देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुग्दा मूल गेटै अगाडि एउटा गाडी जलेर ध्वस्त थियो। जेनजी समूहको जायज मागमा भएको घुसपैठको प्रमाण बनेको गाडीको अवशेष सडक किनारामै थियो।

जेनजी समूहको आव्हानमा सुरु भएको आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरूको एक समूहको तारोमा परेको यो भवनको मूल गेटमा प्रहरी थिएनन्, सेना खटिएका थिए। मरेपछि औषधी भनेजस्तै आन्दोलनकारीसँगै घुसेकाहरूलाई नियन्त्रण गर्न सेना असफल हुँदा तोडफोड र आगलागीको चपेटमा परेर कवाडखाना समान सिंहदरबार प्रवेश गर्दा अहिले भने सेनाले कडाइ गरिरहेको थियो।

जलेको सिंहदरबार अगाडि सेनाको गस्ती।तर प्राङ्गणमा प्रवेश गरे लगत्तै मुख्य प्रशासनिक केन्द्र जलाइएका सवारीसाधनको कङ्कालका कारण सवारीसाधनको कवाडखाना छिरे जस्तै अनुभव भयो। सिंहदरबारमा रहेका भवनहरूको अवलोकन गर्दा केही मन्त्रालय सकुशल देखिए, अधिकांश भवनमा प्रदर्शनकारीहरूले विध्वंस मच्चाएका थिए।

 पहिला देखियो सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय। यसको भवनमा तोडफोड भएको र आगो लगाएको बाहिरैबाट देखियो। तर त्यति धेरै क्षति देखिएन। भवन अगाडिका गाडी र मोटरसाइकल भने जलेर ध्वस्त भएका थिए।

एउटै भवनमा रहेको वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको भवन पनि तोडफोड भएको थियो। आगो लगाउँदा भवन आंशिक जलेको थियो। त्यहाँ पनि मन्त्रालय अगाडि रहेका सवारीसाधन जलेर ध्वस्त थिए।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको भवन भने सुरक्षित देखियो। मन्त्रालय अगाडि राखिएका केही गाडीमा तोडफोड भएको देखियो। अन्य मन्त्रालयको तुलनामा यहाँ कम क्षति भएको देखियो।

सिंहदरबारको पहिचान मेटाउने षड्यन्त्र

सिंहदरबारको परिचय नै पश्चिमतिरको ब्रिटिस संरचना हो। सिंहमाथि फहराइरहेको राष्ट्रिय झन्डाले सहजै यो सिंहदरबार हो भनेर चिन्न सकिन्छ। तर आन्दोलनको दोस्रो दिन यही भवन सबैभन्दा धेरैको निशानामा पर्यो।

भूकम्पबाट क्षति पुगेको सो भवन मर्मत गरेर एक वर्ष अगाडिबाट मात्रै सञ्चालनमा आएको थियो। त्यो एकै वर्षमा पुन जेनजी आन्दोलनको तारोमा पर्यो। त्यहाँ पुग्दा भवन जलेर नष्ट भएको देखियो।

जलेको सिंहदरबारको तस्बिर लिँदै सशस्त्र प्रहरी।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय समेत रहेको भवन बाहिरबाट हेर्दा मुख्य प्रवेशद्वार (प्रधानमन्त्री प्रवेश गर्ने द्वारतर्फ) आंशिक रूपमा जलेको देखिन्थ्यो। जलाउन आएका प्रदर्शनकारी रोक्न असफल भएको सेना अहिले भने जलेको भवनको सुरक्षामा खटिएका थिए।

दङ्गा नियन्त्रणका लागि राज्यले अर्बौँ खर्च गरेर निर्माण गरेको अर्ध सैनिक बल समेत सुरक्षा प्रबन्धमा पूर्ण असफल भयो। उकेराकर्मी पुग्दा सशस्त्रको एउटा टोली खण्डहर बनेको भवनको निरीक्षण गरिरहेको अवस्थामा देखियो।

जलेर खण्डहर बनाइएको भवनको माथि भने नेपालको झन्डा फहराइरहेको थियो। भवनको ठाउँ ठाउँबाट हल्का धुवाँ निस्किरहेको देखिन्थ्यो। भवन वरिपरि रहेका सवारीसाधन जलेर ध्वस्त पारिएका देखिए। तोडफोड गरिएका कम्प्युटर र कागजात भुईँमा छरपस्ट देखिन्थ्यो।

त्यहाँबाट अगाडि बढ्दा देखियो ऊर्जा र अर्थ मन्त्रालय। ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको भवनमा तोडफोड भएको देखियो। आंशिक रूपमा जलेका थिए भवन। यी मन्त्रालय अगाडि राखिएका सवारी साधनको पनि कङ्काल मात्रै बाँकी थिए। अर्थ मन्त्रालय अगाडि टहरातर्फको  राखिएका गाडी भने सामान्य तोडफोड भएको देखियो।

परराष्ट्र सुरक्षितहुँदा  गृह जल्यो

सिंहदरबार भित्र रहेको परराष्ट्र मन्त्रालय प्रदर्शनकारीबाट जोगिएको देखियो। त्यहाँ कुनै तोडफोड र आगजनी भएको देखिएन। सङ्घीय संसद् सचिवालयका दुवै भवन सुरक्षित थिए। गेटबाट छिर्ने टहरो भने जलेका थिए।

देशको गृह प्रशासन सम्हाल्ने गृह मन्त्रालय भने जोगिएन। तोडफोडसँगै जलेको थियो। बाहिरबाट हेर्दा गृह मन्त्रालयको भित्री भाग जलेर निक्कै क्षति भएको देखियो। मन्त्रालय अगाडिका सवारी साधन पनि जोगिएका थिएनन्।

प्रदर्शनकारीहरूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पनि छाडेनन्। भवन तोडफोड भएको देखियो भने आंशिक रूपमा जलेको थियो। मन्त्रालय अगाडि राखिएका सवारी साधन कुनै जोगिएको देखिएन।

पुरानो संसद भवन।एउटै भवनका रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयको भवनमा सामान्य क्षति भएको देखियो। मन्त्रालय अगाडि राखिएका गाडी भने तोडफोड गरिएका थिए। सहकारी विकास र सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय लगायतका केही भवन तथा संरचना सुरक्षित देखियो।

सिंहदरबार परिसरसँगै जोडिएको राष्ट्रिय अभिलेखालय मूल सडकसँगै रहे पनि त्यो भवन जोगियो। प्रदर्शनकारीहरूको विवेकले त्यो भवन जोगिएको हैन। प्रदर्शनकारीहरूको आक्रोशको तारोमा पर्दा देशकै महत्त्वपूर्ण अभिलेखहरू नष्ट होलान् भनेर केही युवाहरू दिनरात अभिलेखालय बाहिर बसेर भवन जल्नबाट जोगाएका थिए।

सिंहदरबार जलाउने बेलामा जोगिएका सवारीसाधनहरु छोपेर जोगाउँदै।त्यही भवन अगाडिपट्टि रहेको स्वास्थ्य मन्त्रालयको अवस्था हेर्ने हो भने युवाहरू आफैँ अभिलेखालय जोगाउन नखटिएको भए सिंहदरबारभित्रको अति महत्त्वपूर्ण संरचना समेत नजोगिएको अवस्थामा अभिलेखालय मात्र कसरी जोगिन्थ्यो होला र।

बन्दै गरेको संसद् भवन, गृह मन्त्रालयको नयाँ भवन भने सुरक्षित देखिए। चुनावी सरकारको नेतृत्वको जिम्मेवारीसहित कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि गृहको त्यही जोगिएको नयाँ भवनमा प्रधानमन्त्रीको नयाँ कार्यालय बनाएर आइतबार उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीको काम सुरु गर्दै भनिन् “सिंहदरबार जलाउने नेपाली हुन सक्दैन।”

भदौ २९, २०८२ आइतबार २३:००:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।