सुशीलाको आग्रहपछि रामेश्वर र कुलमान मन्त्री बन्न 'राजी'

काठमाडौं : प्रधानमन्त्री नियुक्त भएको तेस्रो दिन मन्त्रीपरिषद् गठनमा सक्रिय भएकी सुशीला कार्कीको आग्रहमा रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री बन्न राजी भएका छन्।
रामेश्वर खनाल पूर्व अर्थ सचिव हुन्। घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख हुन्। उनी चुनावी सरकारको नेतृत्व लिन समेत इच्छुक देखिएका थिए। कार्कीले प्रारम्भमा दुबैजनासँग फोनमा छलफल गरेर प्रस्ताव राखेकी थिइन्। छलफल सकारात्मक भएपछि दुवै सिंहदरबारमा पुगेका थिए।
खनाल अर्थमन्त्री र घिसिङ उर्जामन्त्री बन्नेछन्। केपी ओली नेतृत्वको सरकारले प्राधिकरणको प्रमुखबाट निकालिएपछि घिसिङ राजनीतिमा आउन छलफलमा सक्रिय थिए। खनाल नेपाली कांग्रेस प्रवेश गरेका थिए। तर कांग्रेसमा उनी लामो समय बसेनन्। पार्टी छाडेपछि अर्थतन्त्रको समीक्षामा सक्रिय उनले हालै ओली सरकारलाई अर्थतन्त्रबारे अध्ययन गरेर प्रतिवेदन बुझाएका थिए।
बालेन शाहको प्रतिनिधिको रूपमा संसद् विघटनमा भूमिका खेलेका ओमप्रकाश अर्याललाई पनि मन्त्री बनाउन कार्कीले प्रयास गरिरहेको उनी निकट स्रोतले बतायो। स्रोतका अनुसार कानुनको जानकारको रुपमा सरकार निर्माणको छलफलमा सहभागी अर्यालले संसद विघटनको चरणसम्म छलफल पुर्याउन भुमिका खेलेका थिए।
मन्त्रीका रूपमा बालानन्द शर्माको नाम समेत आए पनि उनीबारे निर्णय नभएको स्रोतले बतायो। मन्त्रिको रूपमा रमेश खरेलको नाम समेत चर्चामा छ।
भदौ २९, २०८२ आइतबार २१:१३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।