आन्दोलन 'भड्काउने' चर्चित टिकटकर मनोज पटके ‘अपराधी’, प्रहरीमा देखियो हत्याप्रयासदेखिको १० वटा अपराध

आन्दोलन 'भड्काउने' चर्चित टिकटकर मनोज पटके ‘अपराधी’, प्रहरीमा देखियो हत्याप्रयासदेखिको १० वटा अपराध

काठमाडौं : संसद् भवन जलेकोमा संसद् भवन परिसरमा बसेर खुसी मनाएको भिडियो सार्वजनिक भएसँगै आलोचित भइरहेका टिकटकर मनोज केसीको पृष्ठभूमी पटके 'अपराधी' रहेको खुलेको छ। कुख्यात आपराधिक समूह चलाएका दिनेश अधिकारी चरीको सहयोगी रहेका उनी विरुद्ध प्रहरीमा १० वटा आपराधिक रेकर्ड फेला परेको छ।

उकेराले प्राप्त गरेको उनको आपराधिक रेकर्डमा उनी विरुद्ध प्रहरीमा १० वटा आपराधिक घटना दर्ता भएको पुष्टि भएको छ। दिनेश अधिकारी चरीको सहयोगीको रूपमा काम गरेका उनीमाथि काठमाडौंमा नौ वटा र ललितपुरका एउटा आपराधिक घटनामा संलग्न रहेको रेकर्ड फेला परेको छ।

चरी भनेर परिचित दिनेश अधिकारी प्रहरी इन्काउन्टरमा मारिएपछि पनि मनोज आपराधिक गतिविधीमा संलग्न देखिएका छन्। चरी २०७१ मा मारिएका थिए।

काठमाडौं पेप्सीकोलाका उनी  २०७३ सम्म आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको आपराधिक रेकर्डले देखाउँछ। उनी सार्वजनिक अपराधको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट पक्राउ परेका थिए। उनको अन्तिम आपराधिक रेकर्ड २०७३ जेठ १९ मा महाराजगन्ज वृत्तमा सार्वजनिक अपराधकै केस देखिन्छ।

उनीमाथि ज्यान मार्ने उद्योग, कुटपिट गरेर अङ्गभङ्ग गराएको, लागुऔषध र जुवा जस्ता आपराधिक रेकर्डहरू रहेका छन्।

आपराधिक दुनियाँमा उनी मनोज केसी उर्फ फिप्टीको नामले परिचित थिए। मनोजबारे अनुसन्धान गरेका एक प्रहरी अधिकारीका अनुसार क्यासिनोमा मिटर ब्याजमा लगानी र लुटपाट र डकैतीमा संलग्न दिनेश अधिकारी’ चरी’ ठमेल क्षेत्रमा सक्रिय रहँदा उनी मुख्य सहयोगी थिए। उनी.सुबिधानगर तीनकुनेमा काभ्रेका युवराज लामामाथि खुकुरी प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योगको अभियोग लागेको थियो।

पेप्सीकोलामा उज्ज्वल ढुंगानामाथी खुकुरी प्रहार, ठमेलको डिस्कोमा जोन लामालाई कुटेर आँखा फुटाएको आरोप समेत लागेको थियो। उनी हप्ता असुली, धम्याक्याएर लगानी नै नगरी सित्तैमा सेयर लिने र मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको देखिएको ती अधिकारीले बताए।

उनीमाथि लागेका आपराधिक अभियोगहरूमध्ये कुन-कुनमा सफाइ पाए भन्ने विवरण आगलागीका कारण प्रहरी र अदालतमा रहेका प्रमाण नष्ट भएकाले फेला परेन। उनले आफ्नो टिकटकमा एक भिडियो राखेर प्रदर्शनमा आफू गएको तर आगजनी र तोडफोड भने नगरेको दाबी गरेका थिए।

भदौ २९, २०८२ आइतबार १८:०२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।