जेनजी आन्दोलनपछि भागेका ३ हजार कैदी समातिए, १० हजार कैदी अझै फरार

काठमाडौं : जेनजी आन्दोलनपछिको अराजक अवस्थाका कारण भागेका कैदीबन्दीमध्ये तीन हजार ७२३ जनालाई पक्राउ गरी फेरि कारागारमा पठाइएको छ।
नेपाल प्रहरीले आइतबार मध्याह्नसम्मको तथ्यांक सार्वजनिक गर्दै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेको जनाएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता तथा नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार केही फरार कैदीबन्दीलाई भारत भाग्न खोज्दा भारतीय प्रहरीले समाती फिर्ता पठाएको छ भने कतिपयलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन्।
यस्तै, केही आफैं स्वेच्छाले फर्किएर कारागार पुगेका पनि रहेको बताए। उनले खोजी अभियान निरन्तर जारी रहेको उल्लेख गर्दै फरार कैदीबन्दीबारे कुनै जानकारी भए नजिकैको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरे।
त्यसैगरी, प्रहरी हिरासतबाट भागेकामध्ये अहिलेसम्म १३९ जना थुनुवा पक्राउ परेका छन् भने अझै करिब दुई हजार १०० जना फरार रहेको प्रवक्ता घिमिरेले जानकारी दिए।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तोडफोड, आगजनी र भीड नियन्त्रणमा कमजोरीका कारण मुलुकभरका कारागार र प्रहरी हिरासत कक्षबाट कैदीबन्दी तथा थुनुवा फरार भएका थिए।
भदौ २९, २०८२ आइतबार १४:५४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।