चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं : चाडपर्वको समयमा यात्रुहरूको यात्रा सुरक्षित र सहज बनाउन सरकारले उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो। समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिसहित सरोकारवाला निकायहरू रहनेछन्।

छबुँदे निर्णय भएको बैठकमा चाडपर्व अवधिमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच कडाइ गर्ने, आवश्यकताअनुसार यात्रु सहायता कक्ष स्थापना गर्ने, र यात्रुलाई सहजै गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने व्यवस्था गर्न आग्रह गर्ने निर्णय पनि गरिएको छ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन तथा कार्यालयहरूको यकीन गरी उचित क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउने, ट्राफिक प्रहरीका लागि आवश्यक सामग्री मन्त्रालय र सडक सुरक्षा परिषद् मार्फत उपलब्ध गराउने निर्णय पनि भएको छ।

बैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार वा सामग्री सवारीसाधनमार्फत ओसारपसार हुन नपाउनेगरी तत्काल सूचना जारी गर्ने निर्णयसमेत गरेको छ।

भदौ २९, २०८२ आइतबार १४:२३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।