'पदको रसास्वादनका लागि होइन म युवापुस्ताको आकांक्षा पूरा गर्न आएको हुँ'

'पदको रसास्वादनका लागि होइन म युवापुस्ताको आकांक्षा पूरा गर्न आएको हुँ'

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार अन्त्य, सुशासन कायम र आर्थिक समानता सुनिश्चित गर्न युवापुस्ताको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै उनले आफू पदको रसास्वादनका लागि नभई युवापुस्ताको आकांक्षा पूरा गर्न आएको स्पष्ट पारिन्। कार्कीले आगामी छ महिनाभित्र निर्वाचन सम्पन्न गरी नयाँ संसद्लाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्य रहेको बताइन्।

“कुन परिस्थितिबाट अन्तरिम सरकार बनेको हो, सबैलाई थाहा छ। ठूलो जनधनको क्षति भएको छ, मुख्य निकायका अभिलेख र प्रमाण नष्ट भएका छन्, सुरक्षाकर्मीका साधन जलेका छन्, हत्याहिंसा भएका छन्,” कार्कीले भनिन्, “अत्यावश्यक संस्थामाथि छानीछानी आक्रमण भएको छ। यसलाई योजनाबद्ध षड्यन्त्र नै हो कि भन्ने लाग्छ। छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।”

प्रधानमन्त्रीले क्षतिपूर्ति र पुनःनिर्माणको काम आन्तरिक स्रोत साधन प्रयोग गरेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै यस्तो नृशंस आक्रमणविरुद्ध जनतासँगै एकजुट भई सामना गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “म हिजो महाराजगञ्ज जाँदा त्यहाँका व्यवसायीहरूले जलेको प्रहरी वृत्त पुनर्निर्माण गर्ने जिम्मा लिन तयार भएको बताए। मैले उहाँहरूलाई धन्यवाद दिएँ। हामी सबै मिलेर अघि बढ्नुपर्छ, आलोचना होइन सहयोग गर्नुपर्छ।”

मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा सरकारी संरचनामा व्यापक क्षति पुगेको बताउँदै पुनःस्थापना र सेवा निरन्तरता दिने चुनौती ठूलो रहेको उल्लेख गरे। उनका अनुसार विभिन्न जिल्लाका सरकारी कार्यालय र सुरक्षा निकायका भवनहरूमा क्षति पुगेकाले बजेटको व्यवस्था गरी प्राथमिकताका आधारमा पुनःनिर्माण गर्नुपर्नेछ।

जेनजी समूहको आन्दोलन (भदौ २३–२४) पश्चात् उत्पन्न परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए। उनले शुक्रबार गृह मन्त्रालयका लागि निर्मित नयाँ भवनमा पदभार सम्हालेकी हुन्।

भदौ २९, २०८२ आइतबार १३:२९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।