रास्वपा छाड्दै सुमनाले भनिन्- नेतृत्वको बोझ बोकिराख्नुभन्दा परिवर्तनका लागि आवाज उठाउँ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद् बनेकी सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै औपचारिक रूपमा पार्टी छोड्ने घोषणा गरेकी हुन्।
श्रेष्ठले आफ्नो स्टाटसमा पार्टीभित्र आलोचना गर्ने संस्कृतिको अभाव, गल्ती नस्वीकार्ने प्रवृत्ति र असहमतिको स्वर उठाउनेहरूलाई मिडिया ट्रायलमार्फत दबाउने अभ्यासप्रति कडा आपत्ति जनाएकी छन्।
उनले लेखेकी छन् -“कहिलै गल्ति नस्विकार्ने। गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने। पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएकी हुँ। तर त्यसले फरक पारेन, उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन।”
पार्टी छोड्ने निर्णयलाई स्पष्ट गर्दै उनले थपेकी छन् -“अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। I QUIT. मैले पार्टी छोडेँ।”
त्यससँगै उनले कांग्रेस, एमालेलगायतका ठूला पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई समेत सन्देश दिँदै नेतृत्वको बोझ बोकिराख्नुभन्दा परिवर्तनका लागि आवाज उठाउन आग्रह गरेकी छन्।
“आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बहेराले हो। किन बोकेर बस्नु हुन्छ? अहिले सहि समय आएको छ। आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्,” श्रेष्ठले भनेकी छन्।
भदौ २९, २०८२ आइतबार १२:४५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।