राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलले दिए शुभकामना सन्देश

काठमाडौं : राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सबै नेपाली बालबालिका तथा अभिभावकलाई शुभकामना व्यक्त गरेका छन्। नेपालले बालअधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाइँदै आएको छ। यस वर्षको नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ तय गरिएको छ।
राष्ट्रपतिले जारी गरेको सन्देशमा बाल दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा लगानी गर्न प्रेरणा दिने अपेक्षा व्यक्त गरिएको छ। उनले भने, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको अधिकार सुनिश्चित गरेको छ। यी अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, विद्यालय, अभिभावक र सरोकारवालाबीचको समन्वय अनिवार्य हुन्छ।”
सन्देशमा अझै केही बालबालिका आफ्ना आधारभूत अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै राष्ट्रपतिले विभिन्न कारणले बालबालिकामा पर्न सक्ने नकारात्मक असरतर्फ सबैको ध्यानाकर्षण गराएका छन्। बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, अमानवीय व्यवहार र दुव्र्यवहार रोक्नु सरोकारवालाको दायित्व भएको उनको भनाइ छ।
“बालबालिकाको भविष्य सुरक्षित गर्न सृजनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, सरसफाइ, आवश्यक खोप तथा बालमैत्री स्वास्थ्य संस्थाको व्यवस्था अपरिहार्य हुन्छ,” सन्देशमा भनिएको छ। साथै, बालबालिकालाई घर, विद्यालय र समुदायमा सुरक्षित वातावरण सृजना गर्दै सबै समूहका बालबालिकालाई समान अवसर दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
बालबालिकाको संरक्षण, विकास र सहभागितामा सबै सरोकारवालाले आ–आफ्नो भूमिकाबाट योगदान दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले बाल दिवसले सबैलाई अझ बढी प्रेरणा दिओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
भदौ २९, २०८२ आइतबार ०८:११:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।