आज देशभर राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं : आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रमको आयोजनागरी देशभर मनाइँदै छ।
नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।
बाल अधिकार भनेको बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो।
बाल अधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घको महासभाबाट बालबालिकाको अधिकारका निम्ति पारित राज्य राज्यहरूबीचको एक साझा सम्झौता पत्र हो।
बाल अधिकार आदर्श र घोषणा पत्रमा मात्र सीमित नराखेर यसलाई बाल विकासको व्यवहारिक स्वरूप दिन यस महासन्धिको प्रतिवादन गरिएको हो। नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरिसकेको छ। बाल अधिकारलाई देशको मूल कानुन संविधानमै पनि समेटिएको छ।
भदौ २९, २०८२ आइतबार ०७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।