नवनियुक्त प्रधानमन्त्री जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुग्दा जे देखियो...

नवनियुक्त प्रधानमन्त्री जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुग्दा जे देखियो...

काठमाडौं : जेनजीको दुई दिने आन्दोलनपछि उनीहरूकै मागअनुसार शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले शनिबार अस्पताल पुगेर घाइतेहरूलाई भेटिन्। उनले पुराना नेताहरूकै शैलीमा घाइतेलाई भेटेर सुधार गर्ने आश्वासन र सान्त्वना दिइन्।

राष्ट्रिय ट्रमा सेन्टरमा घाइते भेट्न पुग्नु अघि शनिबार दिउँसो सञ्चारमाध्यमको बाक्लो भीड थियो। ट्रमा सेन्टरको आकस्मिक कक्ष अगाडि उनको फोटो र भिडियो खिच्न नेपाली मात्र होइन विदेशी मिडिया पनि अग्रभागमै देखिन्थे। अस्पतालका कर्मचारी र सर्वसाधारण पनि उत्तिकै थिए। सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की  ट्रमा सेन्टरमा

नवनियुक्त प्रधानमन्त्री कार्की शनिबार करिब तीन बजे सुरक्षा फौजको घेरामा ट्रमा सेन्टर पुगिन्। सुरक्षाकर्मीको घेराबीच उनी आकस्मिक कक्ष अगाडि ओर्लिइन्। अस्पतालका निर्देशक डा. बद्री रिजालले उनलाई स्वागत गरे।

यसअघि सार्वजनिक कार्यक्रममा हक्की स्वभावले बोल्ने कार्की शनिबार ट्रमा पुग्दा भने थकित मुद्रामा देखिन्थिन्। सामान्य देखिने सेतो बुट्टे साडी, निधारमा रातो टीका, पोते र चुरा लगाएकी नवनियुक्त प्रधानमन्त्रीको अनुहारमा केही संशय र संयमता देखिन्थ्यो।

डा. रिजाल र सुरक्षाकर्मीको साथमा उनी आकस्मिक कक्ष हुँदै लिफ्ट चढेर चौथो, पाँचौँ र छैटौँ तलाको वार्ड तथा एचडियु कक्षमा पुगेकी थिइन्। ‘उहाँ इमर्जेन्सीको लिफ्टबाट सिधै ६ तलामा जानुभएको हो,’ डा. रिजालले भने, ‘आईसियु बाहेकका सबै बिरामीलाई हेर्नुभयो।’ आइसियु भने संवेदनशील हुने भएकाले त्यहाँ सामान्यतया भीड गर्न नपाइने उनले बताए।

प्रधानमन्त्री कार्कीले घाइतेसँग भेटघाट गरी अवस्था बुझिन् र कुराकानीसमेत गरिन्। उनले सबै घाइतेको निःशुल्क उपचार गर्न निर्देशन दिएको डा. रिजालले जानकारी दिए।

उनका अनुसार शनिबारसम्म ट्रमा सेन्टरमा ३६ जना घाइते उपचाररत थिए। तीमध्ये ६ जना आईसियुमा, ३ जना एचडियुमा र बाँकी वार्डमा उपचाररत छन्। हालसम्म ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भएको छ। १७१ जना घाइते भर्ना भएकामध्ये बाँकी डिस्चार्ज भइसकेका छन्।

ट्रमाबाट निस्केपछि कार्की सिधै नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगेकी थिइन्। त्यहाँ पनि मिडियाकर्मी र सर्वसाधारणको भिड कम थिएन। अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीलगायत चिकित्सकहरूको टोलीले उनलाई भुइँतलामा रहेको वार्डमा पुर्यायो।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की बानेश्वरको सिभिल अस्पतालमा

त्यहाँ पनि उनी संयमित र मलिन देखिइन्। भर्ना भएका घाइतेको बेडमा पुगेर उनले ट्रमा सेन्टरमा जस्तै घाइतेसँग कुराकानी गरिन्। जेनजी आन्दोलनका क्रममा घाइते भएकाले उपचाररत एक व्यक्तिले प्रधानमन्त्रीलाई जेनजीको योगदान कदर गर्न आग्रह गर्दै भने, “यो पुस्ताको योगदान खेर नजाओस्। हामीले देशका लागि गोली खाएका हौं, राम्रो काम गरिदिनुहोला।”

भुइँतला र पहिलो तलामा रहेका घाइतेलाई भेटेर उनी सिभिल अस्पतालबाट निस्किइन्।

जेनजीको नयाँबानेश्वरस्थित संसद भवन केन्द्रित आन्दोलनका क्रममा सोमबार र मंगलबार घाइतेको चापले रणमैदानजस्तै बनेको सिभिल अस्पतालमा ६ जनाको मृत्यु भएको थियो। १५६ जना घाइते पुगेका मध्ये शनिबारसम्म १० जना मात्र उपचाररत थिए। तीमध्ये एक जनाको आईसियुमा उपचार भइरहेको छ भने बाँकी डिस्चार्ज र रेफर भइसकेका छन्।

आन्दोलनका क्रममा हालसम्म ५१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार बिहानसम्म अस्पताल पुगेका घाइतेको संख्या १,९६२ पुगेको छ। तीमध्ये १,५३८ जना डिस्चार्ज भइसकेका छन्।

तर, नवनियुक्त प्रधानमन्त्री कार्की २८ जना घाइतेको उपचार भइरहेको काठमाडौं मेडिकल कलेज (केएमसी) मा भने गइनन्।

भदौ २८, २०८२ शनिबार २२:४४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।